चितवन । लामो समयमको प्रतीक्षापछि चितवनको नारायणी नदी किनारमा ‘क्रुज सिप’ सञ्चालनमा आउने भएको छ । क्रुज निर्माण गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले नदी किनारमा माघ १ गतेदेखि व्यवसायिक रुपमा क्रुज सञ्चालन गर्न लागेको जनाएको छ ।
राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले क्रुज सञ्चालनको तयारी गरिएको बताए । क्रुजको २ वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो । तर कोरोना महामारीका कारणले समयमा क्रुजको निर्माण सकेर सञ्चालन गर्न नसकिएको प्रवन्ध निर्देशक कँडेलले जानकारी दिए ।
भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन रहेको छ । क्रुजमा एक पटकमा १८० जना यात्रु एकैसाथ चढ्न पाउँछन् । क्रुजसिपमा ३ तला छ ।प्रबन्ध निर्देशक कँडेलका अनुसार एक घण्टासम्म नारायणी नदीमा क्रुजमा यात्रुलाई सयर गराउने योजना छ । क्रुज चढेको टिकट ७ सय तोकिएको छ ।ब्रेकफाष्ट क्रुजिङका लागि १ हजार ५ सय, लञ्च क्रुजिङका लागि २ हजार, डिनर क्रुजिङका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ । क्रुज सिप भित्र रेष्टुरेण्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरु राखिएका छन् ।क्रुजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्रहरु सुटिङ गर्न मिल्ने युनिट डिजाइन परिवर्तन गरी थपिएको छ ।पहिलाको भन्दा बाहिरी लुक्स राम्रो देखाउने गरी डिजाइन गरिएको प्रवन्ध निर्देशक कँडेलले जानकारी दिए । डिजाइन परिवर्तन गर्दा एक करोड लागत र वजन १० टन थप भएको कम्पनीको भनाइ छ ।
हरेक यात्रुको १० लाख बराबरको बीमा हुनेछ । क्रुजसिपमै बसेर विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने सुविधा समेत राखिएको छ । क्रुजसिप निर्माणमा १५ करोड भन्दा बढी खर्च भएको छ ।क्रुज सञ्चालनका लागि नारायणी नदीमा ४० किलोमिटरको अनुमति छ । तर यतिबेला पानीको सतह निक कम भएकाले केही किलोमिटर मात्र चलाइने छ ।
क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको पहिलो तलामा ९०, दोस्रो तलामा १०० जना अटउन सक्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र तथा म्यूजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्नेछ । यहाँ बैठक पनि गर्न मिल्ने छ ।
दोस्रो तलाको एक छेउमा १० जना विशिष्ट व्यक्तिका लागि कुर्सी राखिनेछ । क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको छ । नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुज सिपमा भारतको केरलाका प्राबिधिकले तयार गरेका हुन् । क्रु सदस्य १५ जना रहनेछन् ।