भारतका ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४६औं शतक प्रहार गरेका छन्।
कोहलीले आइतबार केरलामा भएको श्रीलंकाविरुद्धको तेस्रो एकदिवसीय खेलमा शतक प्रहार गरेका हुन्। उनले ८५ बलमा शतक प्रहार गरेका हुन्। उनले शतक बनाउन १० चौका र १ छक्का प्रहार गरे।
आइतबार शतक प्रहार गरेसँगै कोहली एकदिवसीय खेलमा सर्वाधिक शतक प्रहार गर्ने सचिन तेन्दुल्करको रेकर्डबाट तीन शतक टाढा छन्। सचिनले एकदिवसीय खेलमा ४९ शतक प्रहार गरेका थिए।
सर्वाधिक एकदिवसीय शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीको तेस्रो स्थानमा अस्ट्रेलियाका रिकी पोन्टिङ छन्। उनले ३० एकदिवसीय शतक प्रहार गरेका थिए।
तेन्दुल्करलाई पछिल्ला पाँच शतक प्रहार गर्न तीन वर्ष लागेको थियो। कोहलीले सन् २०२० यता अहिलेसम्म तीन शतक प्रहार गरेका छन्।
अहिले खेलिरहेका खेलाडीमध्ये सर्वाधिक एकदिवसीय शतक बनाउने खेलाडीको सूचीमा भारतका रोहित शर्मा दोस्रो स्थानमा छन्। रोहितले अहिलेसम्म २९ एकदिवसीय शतक हिर्काएका छन्।
मंगलबार एकदिवसीय शतक हिर्काएसँगै कोहलीले आफ्नो अन्तर्राष्ट्रिय शतक संख्या ७४ पुर्याएका छन्। कोहलीले ४६ एकदिवसीय शतक, २७ टेस्ट शतक र एक टी-२० अन्तर्राष्ट्रिय शतक हिर्काएका छन्।
सर्वाधिक शतक हान्ने सूचीको शीर्ष स्थानमा सचिन छन्। सचीनले ५१ टेस्ट र ४९ एकदिवसीय शतक गरी कूल सय शतक हिर्काएका थिए। विराट दोस्रो स्थानमा रहदा ७१ शतक प्रहार गरेका रिकी पोन्टिङ तेस्रो स्थानमा छन्।