पोखरा । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको बिमान दुर्घटनामा सवै जनाको मृत्यु भएको छ । दुर्घटनास्थल सेतीको खोंचबाट बाँकी ३ जनाको शव पनि भेटिएको छ ।
उद्धारका लागि कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको गोताखोर र रोप रेस्क्यु टोलीले खोँचबाट ४ जनाको शव निकालेको हो । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमान्डमा १५ जनाको गोताखोर र रोप रेस्क्यु टोली उद्धारका लागि पोखरा पुगेको हो ।
दुर्घटनामा परेका बिमानमा सवार ७२ यात्रुमध्ये नागरिक उड्डयन प्राधिकरणले ६८ जनाको मृत्यु पुष्टि गरेको छ । बाँकी एक जनाको शव खोँचमा फेला परे पनि निकाल्न सकिएको थिएन ।
विमानमा चार जना चालकदलबाहेक महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ यात्रु रहेका थिए । पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९ एन–एएनसी एटीआर ७२ जहाज दुर्घटना भएको हो । आज बिहान भएको दुर्घटनामा सवै यात्रुको ज्यान गएको हो ।
यसरी भयो विमान दुर्घटना
काठमाडौं विमानस्थलबाट आइतबार बिहान १०ः३२ बजे ४ चालक दलका सदस्य र ६८ यात्रुसहित एटि एयरलाइन्सको विमान पोखराका लागि उड्यो । आइतबार एकपटक पोखरा गएर फर्केर आइसकेको थियो उक्त जहाज । पुनः दोस्रोपटक पोखराका लागि उडेको यतिको एएनसी एटीआर–७२ जहाजको पोखरा विमानस्थलमा अवतरणको समय १०ः५९ बजे थियो । तर, उक्त विमान पोखरा विमानस्थलमा अवतरण हुन नपाउँदै दुर्घटना भयो ।
अवतरणका लागि कम उचाइमा आइरहेका बेला पोखरा महानगरपालिका १७, घारीपाटन नजिकैको आकाशमा अस्वभाविक कोल्टे परेको एक स्थानीयले खिचेको भिडियोमा देख्न सकिन्छ । त्यसपछि भने केही सेकेन्डमै भुइँमा बजारिएको ठूलो आवाज सुनियो । त्यसलगत्तै धुवाँको मुस्लोसहित ठूलो आगो लाग्यो ।आगो लागेलगत्तै हेलिकोप्टरबाट पानी खन्याए पनि निभ्न सकेन । दुर्घटनापछि तत्कालै उद्धार गर्दा पनि जीवित यात्रु भेटन सकिएन ।
दुर्घटनाअघि विमानस्थलले अतवरणको अनुमति लिइसकेको थियो । ‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ, विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो ।
विमान अन्तिम पटक १०ः५० मा सम्पर्कमा थियो । त्यसपछि भने सम्पर्क हुन सकेन । विमान खसेको ठाउँ पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टि रहेको नेपाली सेनाको ब्यारेक पछाडि हो । नयाँ विमानस्थलतर्फ ल्याण्ड गर्नका लागि मोडिएको अवस्थामा विमान घनाबस्ती माथि उडिरहेको थियो ।
विमान एक मिनेट मात्रै ढिला दुर्घटना परेको भए पुरानो विमानस्थल माथि खस्ने थियो । एक मिनेट मात्रै थप अघि बढेको भए रामघाट बजार माथि जहाज बजारिने थियो । पाइलटले बस्ती जोगाउन हरसम्भव प्रयास गरेको देखिन्छ । ‘पाइलटले बस्ती जोगाउन विमान सेती खोंचतिर लगेर अर्को दुर्घटना जोगाउन हरसम्भव प्रयास गरेको देखियो,’ एक प्रत्यक्षदर्शीले भने ।
दुर्घटनामा सेती खोंचमा माछा मार्न गएका दुई जना स्थानीय पनि घाइते भएका छन् । उनीहरु माछा मार्दै गरेको समयमा जहाज सेती खोंचमा खस्दा घाइते भएका हुन । उक्त विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए । जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए ।