वीरगन्ज २२ फागुन : सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ ।
भारतीय सीमासँग जोडिएको प्रदेश २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर जोडिएको सीमामा हुने आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न सीमा क्षेत्र तथा पूर्व–पश्चिम राजमार्गको मुख्य ठाउँमा करीब २०० जति सिसिटिभी क्यामरा जडान गर्न लागिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए ।
बाराको सिम्रौनगढ नगरपालिका–९ बाँसबारीमा जडान गरिएको ३ वटा सिसिटिभी क्यामरा सञ्चालनमा रहेको छ भने सोही नगरपालिका–१ मा ३, बेल्दारीमा २, कलैया उपमहानगरपालिका–१० मटिअर्वामा ३, महागढीमाई नगरपालिका–७ बेनौलीमा ३ वटा क्यामरा सञ्चालन रहेको भने बरैनियामा ३ र कवहीगोठ–२ मा क्यामराको सामान उपलब्ध गराएको छ ।
यसैगरी पर्साको बीरगन्ज् महानगरपालिका–१६ को भन्सार मूलद्वारमा चार, बीरगन्ज् महानगरपालिका–१ प्रगति नगरमा ३, आदर्शनगरमा ३, अलौमा ४, अमरपटिमा ३, छिपहरमाई गाउँपालिका–५ भिस्वा सीमा क्षेत्रमा ३, ठोरी गाउँपालिका–५ सुर्वणपुर बाघमोर्चामा ३, सोही गाउँपालिका–२ ठुटे खोला र बजारमा २ वटा क्यामरा जडान गरिने लक्ष्य रहेको बताइएको छ ।
ती जडान भएका सिसिटिभी क्यामराको सशस्त्र प्रहरीको जिल्ला कार्यालय तथा प्रदेश २ को मुख्यालयबाट सीमा क्षेत्रको गतिविधि हेर्न सकिने व्यवस्था गरिएको छ । यसैगरी सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै प्रदेश २ भरि आठ सशस्त्र अधिकृतसहित ६० भन्दा बढीलाई कारवाही गरेको सो कार्यालयले जनाएको छ ।