वीरगन्ज । विलासिताका वस्तुहरुको आयात सरकारले खुला गरिसक्दा पनि वीरगन्जका दुबै भन्सारको राजश्व असुलीमा अझै सकारात्मक प्रभाव देखिएको छैन ।सवारी साधन, मदिरा, मोबाइल जस्ता राजश्वमा योगदान गर्ने वस्तुहरुको आयातमा संघीय सरकारले आफैंले लगाएको प्रतिबन्ध गत महिना फुकुवा गरिसक्दा पनि वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारले मासिक राजश्व असुली लक्ष्य भेटाउनै सकेका छैनन् ।
उनीहरुको मासिक राजश्व असुली घटदै गएर अब लक्ष्यको ५५ देखि ६० प्रतिशत हाराहारीमा खुम्चिएको छ । सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले पुस महिनामा लक्ष्यको ५६ दशमलव ९३ प्रतिशत मात्र राजश्व असुली गर्न सकेको छ । यो भन्सारले पुस महिनामा ५ अर्ब ८३ करोड ७५ लाख ५१ हजार रुपैयाँँ राजश्व असुलीको लक्ष्य पाएकोमा ३ अर्ब ३२ करोड ३५ लाख ५१ हजार रुपैयाँँ मात्र राजश्व असुली गर्न सक्यो ।
त्यसैगरी, चालु आर्थिक वर्षमा पुस मसान्तसम्ममा ३२ अर्ब ३ करोड ३८ लाख २७ हजार रुपैयाँँ राजश्व असुलीको लक्ष्य रहेकोमा यो भन्सारले २१ अर्ब ५१ करोड ८० लाख २५ हजार रुपैयाँँ मात्र राजश्व असुली गर्न सकेको छ । जुन लक्ष्यको ६७ दशमलव १७ प्रतिशत मात्र हो ।
यता वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली पनि निराशाजनक छ । पुस महिनामा यो भन्सारले लक्ष्यको ५७ दशमलव २ प्रतिशत मात्र राजश्व संकलन गर्न सक्यो । २३ अर्ब ४ करोड ४७ लाख १ हजार रुपैयाँँ मासिक राजश्व असुलीको लक्ष्य रहेकोमा १३ अर्ब १७ करोड ३४ लाख ४० हजार रुपैयाँ मात्र गर्न सक्यो ।
चालु आवमा पुस मसान्त सम्ममा १ खर्ब २२ अर्ब ७७ करोड १८ लाख ५५ हजार रुपैयाँ राजश्व असुलीको लक्ष्य रहेकोमा ७६ अर्ब ६३ करोड ४ लाख ८५ हजार रुपैयाँ मात्र राजश्व यो भन्सारले संकलन गर्न सकेको छ । जुन लक्ष्यको ६२ दशमलव ४ प्रतिशत मात्र हो ।
सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले समग्रमा आयात घटेको अवस्था रहेकाले राजश्व असुलीको लक्ष्य भेट्टाउन समस्या भएको बताए । यस बाहेक आयातमा प्रतिबन्ध लागेका वस्तुहरुको आयात खुल्ला गरिए पनि ती वस्तुको आयात सुचारु हुन अझै केही समय लाग्ने उनले बताए । मदिराको आयात खुला गरिएपछि शुक्रबार पहिलो पटक २ कन्टेनर मदिरा जाँचपास भएको उनले बताए ।
‘अमेरिकाबाट आयात भएको २ कन्टेनर ज्याक डेनियल ह्विस्की जाँचपास हुँदा मात्र ९ करोड ८० लाख रुपैयाँ राजश्व संकलन भएको थियो,’ उनले भने, ‘सामान्य अवस्थामा यो नाकाबाट राजश्वमा सर्वाधिक योगदान गर्ने वस्तु मदिरा नै थियो, २ महिनाभित्र थप ७० कन्टेनर मदिरा यो नाकाबाट आयात हुने पाइपलाइनमा छन्, हामी आशावादी छौं, बिस्तारै राजश्व संकलनको अवस्थामा सुधार आउँदै जान्छ ।’ सिर्सिया सुक्खा बन्दरगाह नाका मदिरा आयात हुने मुलुककै प्रमुख नाका हो ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल वीरगन्ज नाकाबाट सर्वाधिक राजश्वमा योगदान गर्ने वस्तुहरु सवारी साधन र इन्धन नै रहेकोमा हाल यी दुबै वस्तुको आयात घटेकाले त्यसको प्रत्यक्ष असर समग्र राजश्व असुलीमै देखिएको बताउँछन् ।