काठमाडौं। एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।
एमालेले सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको सभामुखमा घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्ता गठबन्धनमा भागबण्डाका क्रममा सभामुख एमालेको भागमा परेको थियो।
झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरे एमाले प्रदेश १ का ईञ्चार्ज पनि हुन्।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको लागि प्रकाशित गरेको कार्यतालिकाअनुसार आज बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुँदैछ ।
निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ। बुधबार ४ः१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ।
प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन्। सभामुख चयनका लागि बिहीवार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
एक मात्र उम्मेदवार भएको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ। मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ।
कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ।
हालसम्म कांग्रेसले सभामुखको उम्मेदवार उठाउने वा नउठाउनेबारे निर्णय गरेको छैन। त्यसबारे निर्णय गर्न अहिले कांग्रेस बैठक बसिरहेको छ।