वीरगन्ज । श्रोत नखुलको ठूलो रकम सहित वीरगंजबाट दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । हुण्डीको कारोबारी रहेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर चोकबाट २२ लाख ५० हजार रुपैया सहित दुइ जनालाइ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३४ वर्षिय विकास साह र वीरगन्ज १८ इनर्वा मनियारीका १९ वर्षिय सुभाष कुमार साह रहेका छन् ।
मङगलबार दिउँसो प्रहरीले घण्टघार चोक स्थित सडकमा बीआर ०५ ए इ ९३४३ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा त्यसमा विकाससंगै सवार रहेका सुभाषले बोकेको झोलाबाट उक्त रकम बरामद भएको प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिए ।
झोलाबाट नेपाली पाँच सय र एक हजार दरको नोट गरि २२ लाख ५० हजार रुपैया बरामद भएको उनले बताए । बरामद रकम, साहद्वयले श्रोत खुलाउन नसकेकाले हुण्डीको कारोबारको रहेको उनले बताए । बरामद रकम सहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतममा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भईरहेको गिरिले जानकारी दिए ।
वीरगन्जमै एक साताअघि मात्रै प्रहरीले स्रोत नखुलेको १२ लाख २० हजार रुपैया सहित वीरगन्ज महानगरपालिका १७ का १९ वर्षीय राजन साहलाइ पनि पक्राउ गरेको थियो ।
वीरगन्जमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै हण्डीको कारोबार गरेको भन्दै ७ जनालाई पक्राउ गरि उनिहरुको साथबाट ९५ लाख ९८ हजार रुपैया बरामद गरिसकेको छ ।
यस्तै गत आर्थिक वर्ष २०७८÷०७९ मा वीरगन्जमा प्रहरीले २२ जनालाई पक्राउ गरि उनीहरूको साथबाट १ करोड ६५ लाख रुपैयाँ बरामद गरेको थियो ।
खुल्ला सिमाना र नेपाली उपभोक्ता भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्तिका कारण हुन्डी कारोबार बढेको प्रहरी नायब उपरिक्षक गिरीले बताए । उनका अनुसार , नेपालीहरू किनमेल गर्न सीमावर्ती भारतीय बजार पुग्दा त्यहाँ नेपाली रुपैयाँमा विनिमय गरेपछि दैनिक ठूलो परिमाणमा नेपाली मुद्रा त्यहाँ जम्मा हुने गरेको छ । यसरी भारत पुगेको नेपाली रुपैयाँ उनीहरूलाई उपयोगी नहुने भएकाले त्यस्तो रकम अवैध रुपमा पुनः नेपाललै फर्काउने गरिएको छ ।