वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकामा ढलान गरिएको सडक एक वर्ष नबित्दै भत्किन लागेको छ । कमसल सामग्री प्रयोग गरी बहुदरमाई नगरपालिका वडा नं. ५ बलिरामपुरस्थित निर्माण गरिएको ढलान सडक एक वर्ष नबित्दै भत्किन लागेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा वडा नं. ५ बलिरामपुरको अनिल यादवको घरदेखी गाउँबाहिर रामजित यादवको घरसम्म कुल ६७ लाखको लागतमा ३०० मिटर लामो ढलान सडक सहित सडकको दुबैतर्फ गरी ६०० मिटर लामो निर्माण गरिएको नाला एक वर्ष नबित्दै भित्रि भाग भत्किएर सडकमै सिम उठाउँदै गएको पाइएको छ । उपभोक्ता समितिमार्फत ढलान गरिएको एम २० ग्रेडको आरसीसी ढलान सडक मापदण्ड अनुसार सामग्री प्रयोग नगरी गुणस्तरहीन काम गरिएकाले ढलान सडक भत्किदै गएको स्थानीयको आरोप छ ।
गत आर्थिक वर्षको शुरुमा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत २५ लाख बजेटबाट एक सय २५ मिटरसम्म आरसीसी ढलान र सडकको दुबैपट्टी नाला निर्माणको काम उपभोक्ता समितिबाट भएको थियो । पालिकाबाट पनि सो सडक गाउँ बाहिरसम्म ढलानसहितको नाला निर्माणका लागि ५० लाख विनियोजित बजेटबाट १७ लाखको लागतमा सडकको दुवै साईड गाउँको बाहिरसम्म नाला निर्माण भएको थियो । पछि सोही वर्षको चैत्र बैशाखमा प्रदेश सरकारको २५ लाखको बजेटबाट एम २० ग्रेडको आरसीसी ढलान गरिएको छ ।
एम २० ग्रेडको आरसीसी ढलानको लागि १ भाग सिमेन्टमा १.५ भाग बालुवा, ३ भाग गिटी र १० इन्चको फराकिलो छड दिई मात्रै ढलान गर्नु पर्ने कानुनी व्यवस्था छ । तर ठेक्का दिने बेला नै कुल बजेटको ३० प्रतिशतसम्म रकम पूर्वमेयर देखी निवर्तमान वडाध्यक्ष, निमित प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र लेखा प्रमुख सहितको कमिसन मै दिनुपर्ने भएकोले काम गराए बापत उपभोक्ताले केही मुनाफा कमाउन कम लागतमा निर्माण हुने गरी कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन काम गरेको स्थानीयको आरोप छ । ट्रक, टिपर जस्ता भारी लोड बोक्ने सवारी साधन नचल्ने उक्त सडकमा बढी लोड बोकेर कहिलेकाहीँ ट्याक्टर मात्रै चल्ने गरेको स्थानीय रामबालक यादव बताउँछन् । तर ठेकेदार वा उपभोक्ता जसलाई ठेक्का दिएर काम गराएपनि कुल बजेटको ३० प्रतिशतसम्म कमिसन लिने सर्त नै गरेअनुसार गुणस्तरहीन काम गर्दा एक वर्षमै आरसीसी ढलान भत्किँदै नाला भित्रैबाट फुट्ने गरेको छ ।
घरघरमा छिर्दै नालाको पानी
बहुदरमाई नगरपालिकाको वडा नं. ५ बलिरामपुर गरिएको आरसीसी ढलानसंगै निर्माण भएको नालाको काम पनि गुणस्तरीय हुँदा भित्रैबाट नाला फुटेर नालाको पानी स्थानीयको घर घर छिर्ने गरेको छ । नाला निर्माणको कार्य पनि गुणस्तरहीन हुँदा भित्रैबाट नाला फुटेर सडक छेउमा भएको स्थानीयको घरघरमा पानी पसेर सिम हुने गरेको स्थानीय रुसी खातुनले दुःखेसो पोखिन् ।
एम १५ ग्रेडको नाला निर्माण गरिएको नगरपालिकाकाले जनाएको छ । जसअनुसार गुणस्तरीय नाला ढलानको लागि १ भाग सिमेन्टमा , २ भाग बालुवा, ४ भाग गिटीको सामग्रीसहित ४/४ इन्च फराकिलो छड यु सेपमा बाँधेर १० वटा बाईनडर लगाउनु पर्ने हुन्छ । तर सडक ढलान र नाला निर्माण गर्दा एक भाग सिमेन्टमा ८ भाग बालुवा र १२ भाग गिटी मिसाएर फराकिलो छड लगाई नालाको गुणस्तरहीन काम भएकोले ढलान सडक भत्किनुको साथै नाला फुटेर भित्रैबाट घरमा समेत पानी छिर्ने गरेको स्थानीय बताउँछन् । ढलान र नाला निर्माणको बेला आफू बढी सिमेन्ट हाल्न भनेपनि मिस्त्रीहरु हास्दै हतार हतारमा गुणस्तरहीन सडक ढलान तथा नाला निर्माणको काम गरेको खातुनले बताईन् । बजेटमा हिनामिना गर्ने नियतले गुणस्तहीन नाला निर्माणले नालाको पानी चुहिएर घरको अगाडी र घरभित्रसम्म पानी पसेर सिम हुने गरेकोले खातुन सहित कैयौँ घरपरिवार मारमा छन् । माटो हालेर बालुवा र बालुवा अनुसार सिमेन्ट, छड पनि मापदण्ड अनुसार प्रयोग नगरी ढलान गरिएकोले ढलान सडक भत्किँदै नाला समेत फुटेर पानी घरभित्र र बाहिर पानी पानी हुने गरेको खातुनको भनाई छ ।
गत वर्ष पुस महिनादेखी सुरु गरिएको ढलान सडक तथा नाला निर्माणको कार्य फागुन महिनामा सम्पन्न भएको थियो । बजेट हिनामिना गर्न हतार हतारमा गुणस्तरहीन काम गरिएकोले वर्ष नबित्दै उक्त गुणस्तरहीन ढलान सडक भत्किएको सोही वडाका अर्का स्थानीय रामबालक यादव बताउँछन् ।
गुणस्तरहीन कामलाई त्रुटी बताउँदै इन्जिनियर
एक वर्षमै ढलान भत्किएर नाला भित्रैबाट फुटर स्थानीयको घरमा पानी छिर्ने गरेको प्रश्नमा यसबारे आफूलाई जानकारी नरहेको र कसैले नगरपालिका वा वडामा गुनासो पनि नगरेको इन्जिनियर बिनेस कुमार साहले प्रतिक्रिया दिएका छन् । गुणस्तरीय ढलान सडक २५/३० वर्षसम्म टिकाउ हुने इन्जिनियर साहले आफै बताउँछन् तर कमिसनको भागबण्डामा गुणस्तरहीन ढलान सडक र नाला निर्माण कार्यलाई केही त्रुटी हुन सकेको भन्दै स्थानीयले आफूहरु कहाँ गुनासो लिएर आए उक्त समस्या समाधान गराउने बताए ।
यता, बहुदरमाई नगरपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत बिदुर उप्रेतीले यस विषय बारे आफू प्राविधिकसंग कुरा गर्ने बताउँदै अरु केही बोल्न चाहेनन् । पूर्वाधार विकास लगायत कुनै पनि योजनाको कामको अनुगमन निरीक्षण गरी सम्पन्न काम कानुनी मापदण्ड अनुसार भएको पाईमा मात्रै भुक्तानी गर्ने पर्ने कानुनी व्यवस्था छ । कुनै पनि पालिकाको प्रमुख प्रशासकीय अधिकृत लेखा प्रमुख लगायतका कर्मचारीले ऐन कानुनले व्यवस्था गरे अनुसार काम गर्ने हो भन्ने कुनै पनि जनप्रतिनिधिले एक सुको पनि अवैध आर्थिक लाभ लिन सक्दैन ।
तर कामको प्रभावकारिता बिनै पूर्वजनप्रतिनीधिदेखी प्रमुख प्रशासकीय अधिकृत बिदुर उप्रेती, लेखा प्रमुख उपेन्द्र साह, इन्जिनियर बिनेस साह सहितकाले मोटो कमिसनको लागि जस्तो सुकै काम पनि गर्ने/गराउने रवैयाले एक वर्ष मै ढलान भत्किँदै नाला फुटेर त्यसको पानी घरघरमा जाने गरेको आरोप छ ।