वीरगंज । नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा वीरगंजका करिब ४० जना नर्सहरुलाई नवजात शिशुको पुर्नजीवन सम्बन्धी तालिम दिईएको छ।
नेपाल मेडिसिटी बयोधा अस्पतालले आयोजना गरेको उद्घाटन सत्रमा वीरगंज स्थित नेशनल मेडिकल टिचिङ्ग हस्पिटलकी नर्सिङ्ग निर्देशक श्रीमती गंगा गुरुङ्गले प्रमुख अतिथिको आसनबाट नर्सहरु भनेको अस्पतालको मेरुदण्ड भएको बताउनु भयो । नर्सहरुले आफ्नो ज्ञान र शीपलाई अभिवृद्धि गर्दै अस्पतालहरुमा दीगो सेवालाई प्रत्याभूत गर्न आवश्यक रहेको पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएकी वीरगंज नर्सिङ्ग क्याम्पसकी प्रमुख जमुना भट्टराईले नेपालमा जेष्ठ नागरिकहरुको संख्या वृद्धि भईरहेकोले नर्सहरु तथा अस्पतालहरुले पनि जेष्ठ नागरिकहरुको उपचारमा अभ बढी ध्यान दिनुपर्ने बताउनु भयो । नर्सहरुको सेवा, सुविधा तथा जीवनयापनका लागि पर्याप्त पारिश्रमिकको व्यवस्था अस्पतालहरुले गरेको खण्डमा नर्सहरुको कार्यकुशलता अभिबृद्धि हुने उहाँले बताउनु भयो ।
नेपाल मेडिसिटी बयोधा अस्पतालले नर्सहरुको ज्ञान र शीपलाई अभिबृद्धि गर्न नियमित रुपमा तालीमहरुको आयोजना गरिरहेको र स्वास्थ्यका अधिकांश सेवाहरुलाई वीरगंजमै उपलब्ध गराईरहेकोले सम्पूर्ण उपचार अब वीरगंजमै सम्भव बनाउन आफूहरु लागिपरेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताउनु भयो ।
आफूहरुले वीरगंजका सबै अस्पतालहरुसँग सहकार्य गरेर विरामीहरुलाई प्राथमिक, माध्यमिक र विशिष्ट सेवा वीरगंजमै उपलब्ध गराउने प्रयास गरिरहेकोले अब उपचारका लागि अन्यत्र जाने अवस्था न्यून हुने उहांले बताउनु भयो ।
उद्घाटन सत्र पश्चात नवजात शिशुको पूर्नजीवन व्यवहारिक तालिममा वीरगंजका अधिकांश अस्पताल तथा नेपाल मेडिसिटी बयोधा अस्पतालका गरी करिब ४० जना नर्सहरु सहभागी रहेका थिए । उक्त कार्यक्रममा नवजात शिशुहरुको अस्पतालमा गरिने उपचार तथा नवजात शिशुहरुको सघन उपचारका तरीकाहरुको व्यवहारिक तालिम दिईएको थियो ।
नेपाल मेडिसिटी बयोधा अस्पतालको बालरोग विशेषज्ञ डा. आनन्द रौनियार, डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेण्ट विद्या गुप्ता, एसिस्टेन्ट नर्सिङ्ग सुपरिन्टेन्डेण्ट रविन्द्र कानुले नर्सहरुलाई प्रशिक्षण दिनु भएको थियो ।