बीरगन्ज । पास गरेको घरजग्गा खाली नगरिदिएपछि जग्गा खरिदकर्ता बिचल्लीमा परेका छन् । यो घटना बीरगन्ज महानगरपालिकाको वडा नं. १० को हो । सो वडाको अशोकवाटिका बस्ने मञ्जुदेवी वर्णवालले घरजग्गा पास गरेको छ महीना बित्दा पनि खाली नगरेपछि खरिदकर्ता सोही वडाका विनोदकुमार वर्णवालकी पत्नी अमृतादेवी वर्णवालको परिवार बिचल्लीमा परेका छन् ।
बीरगन्जमा आईतबार पिडित परिवारले पत्रकार सम्मेलन आयोजना गरी घरजग्गा खाली गराउन प्रहरी प्रशासनदेखि स्थानीय सरकार र जनप्रतिनिधिसम्मले सहयोग नगरेको दुखेसो पोखे । वीरगंज–१० अशोकवाटिकाको कित्ता नम्बर ८३ को पाँच धुर जग्गामा बनेको एक तले पक्की घर गत असार १३ गते मालपोत कार्यालय पर्साबाट मञ्जुदेवीले अमृतदेवीको नाममा रजिस्ट्रेशन पास गरेकी थिइन् ।
मञ्जुदेवी, विनोदकी आफ्नै फुपू हुन् । घर र जग्गाको कुल रु ६२ लाख मोल लागे तापनि अमृतादेवीले हालसम्म पटक–पटक गरी कुल ६० लाख रकम दिइसके पनि घरजग्गा खाली गर्न नमानेकोमा दुःख व्यक्त गरिन् । उनले बाँकी दुई लाख तिर्न पनि आफु तयार रहेको तर बलजफ्ती आफ्नो घरजग्गा कब्जा गरी बसेकोमा पत्रकार सम्मेलनका दुखेको पोख्दै स्थानीय प्रहरी प्रशासनले पनि कुनै चासो नदेखाएको बताईन् । उनले सम्बन्धित निकायहरु प्रहरी, प्रशासन र स्थानीय सरकारले जिम्मेवारीबाट पन्छिदैं दुख माथि थप पिडा मात्र दिएको वर्णवाले बताए ।
जग्गा खरीदकर्ता अमृतादेवीको परिवारले दिएको ६० लाखमध्ये १६ लाख एक हजार घर धितो रहेको एक सहकारीलाई तिरेको, २४ लाख मूल्य बराबरको वीरगंज–२४ रामगढवा, ज्योतिनगरको छ धुर जग्गा पास गरिदिएको, नौ लाख ४५ हजार मञ्जुदेवी वर्णवाललाई पास गर्ने बेलामा दिएको र मञ्जुदेवीकी छोरी सोनी वर्णवाललाई १० लाख नगद दिएको गरी कुल ५९ लाख ४६ हजार रुपैयाँ दिइसकेको र बाँकी हिसाब फछ्र्योट गरी घरजग्गा खाली गर्न भन्दा पनि आफूहरूलाई हैरान पारेको अमृतादेवीले गुनासो गरिन् ।
पत्रकार सम्मेलनमा वर्णवालले सो घरजग्गा खरिद गर्न आफुहरुले भएको सबै सम्पत्ति घर जग्गा बेचेकोमा अब नयाँ घरजग्गामा बसोबास गर्न नपाउँदा घर न घाटको भएको बताए । हाल आएर बिक्रिकर्ताले घरजग्गाको ७८ लाख रुपैंया माग दाबी गरेर अनावश्यक दुख मात्र दिएको वर्णवालले बताईन् ।