वीरगञ्ज । चलचित्र विकास बोर्डमा चलचित्र, मनोरञ्जन र कला क्षेत्रमा कलम चलाउनेहरुको जमघट भयो । माघ १३ र १४ गते २ दिनसम्म १ सय जनाभन्दा बढी चलचित्र पत्रकारहरुको जमघट बनाउने अवसर जुराएको थियो चलचित्र पत्रकार संघले । चलचित्र विकास बोर्डसँगको सहकार्यमा संघले विधागत पत्रकारितामध्येको कला क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर आयोजना गरेको आधुनिक युगमा चलचित्र पत्रकारिता (फिल्म जर्नालिजम इन मोर्डन ईरा) विषयक २ दिने कार्यशालाले यो संयोग जुरेको थियो । काठमाण्डौ उपत्यकाभित्रका चलचित्र एवम् कला पत्रकारसँगै बाँके, बुटवल, कास्की, चितवन र पर्साका चलचित्र पत्रकारहरु कार्यशालामा उपस्थित थिए ।
माघ १३ गते शुक्रवार बिहान खाजा पश्चात साढे ८ देखि कार्यशालाको उद्घाटन गर्ने पूर्वतालिका भएपनि चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुलीले ११ बजेदेखि मात्रै माइकमा बोल्न शुरु गरे । चलचित्र पत्रकार संघको स्थापना, उद्देश्यसँगै हालसम्म गरेका प्रमुख कामहरुको बारेमा सारांश प्रस्तुत गर्दै उपाध्यक्ष पराजुलीले कार्यक्रमलाई औपचारिकता प्रदान गरे । संघका अध्यक्ष दिनेश सिटौलालाई अध्यक्षता गराउँदै उनले पहिलो सत्रमा पत्रकार आचारसंहिताका बारेमा प्रस्तुती दिन प्रशिक्षक प्रेस काउन्सिलका मुख्य अधिकृत झबीन्द्र भुषाललाई आमन्त्रीत गरे ।
पत्रकारिता : हतारको साहित्य
भुषालले पत्रकार आचारसंहिताका बारेमा प्रशिक्षण दिनु अघि काउन्सिले गर्ने काम कर्तव्यका बारेमा प्रकाश पारे । काउन्सिल एक स्वायत्त कानुनी निकाय भएको प्रष्ट पार्दै उनले भने, ‘प्रेस काउन्सिल राज्यको कुनै अंग नभई यो स्वायत्त निकाय हो, सञ्चार मन्त्रालयअन्र्तगत निकाय भएपनि आफ्नै कानुनबमोजिम सञ्चालन छ । यसले पत्रकार आचारसंहिता बनाउने, र कार्यन्वयन भए/नभएको नियमन गर्ने काम गर्छ ।’
अनुगमनको लागि अभिलेखीकरण गर्ने कामलाई पनि काउन्सिलले प्राथमिकता दिँदै आएको भुषालको भनाई थियो । अनलाईनहरुमा आएका समाचारहरु डिलेट भएपनि काउन्सिलले निगरानी गरीरहेको बताउँदै उनले भरसक डिलेट गर्न नहुने र गर्ने परेपनि कारण उल्लेख गर्नुपर्ने बारे जानकारी गराए । पत्रकारिता हतारको साहित्य भएको बताउँदै उनले हतारमा गल्ती र कमजोरी हुनु स्वभाविक भएपनि त्यसलाई हटाउनुको साटो सच्याउनुपर्नेमा जोड दिए । भुषालले लगभग सवा घण्टाकोे समयपछि आफ्नो प्रस्तुती सकाए । नेपाल टेलिभिजनमा कार्यरत मनोज न्यौपानेले सञ्चार गृहले समान अवसर दिन नसकेको गुनासो गर्दै काउन्सिलको अनुगमन र नियमन प्रभावकारी हुन नसकेको प्रश्न गरेका थिए । रेडियो अन्नपूर्णका सुरज पौडेलले पनि जिज्ञासा राखेका थिए ।
रुमल्लीरहेका रंग पत्रकार
पहिलो सत्रको समाप्तीसँगै संघका अध्यक्ष सिटौलाले पहिलो सत्रका प्रशिक्षक भुषाललाई प्रशिक्षक प्रमाण पत्र प्रदान गरे । सहभागीहरुले ५ मिनेटको चिया ब्रेक लिन खोजेपनि पूर्व निर्धारित समयभन्दा धेरै बिलम्भ भइसकेको हुँदा उद्घोषक पराजुलीले दोस्रो सत्र लगत्तै शुरु गरे । बरिष्ठ पत्रकार कृष्ण भट्टराईले समाचार लेखन र नेपालमा चलचित्र पत्रकारिताको इतिहासका बारेमा प्रस्तुती शुरु गरे ।
पहिलो सत्रमा झबिन्द्र भुषालले पावर प्वाइन्ट प्रस्तुती प्रस्तुत गरे भने सहभागीहरुले दोस्रोमा पनि त्यस्तै प्रस्तुतीको अपेक्षा गरेका थिए । तर भट्टराईले पावरप्वाइन्ट प्रस्तुतीलाई परम्परागत शैलीको संज्ञा दिँदै दोहोरो कुराकानीका आधारमा सिकाई आदानप्रदान गर्नेतर्फ जोड दिए । हातले नै समाचार लेख्नुपर्ने पूरानो समयलाई स्मरण गर्दै भट्टराईले भने, ‘अहिले त प्रविधिले धेरै सहज बनाइदिएको छ, सहजसँगै व्यक्तिलाई अल्छी पनि बनाएको हुँदा अहिलेको पुस्तामा मेहनत त्यति देखिँदैन ।’ ट्रेलर रिलिज, टिजर सार्वजनिक, फिल्मको प्रिमियर जस्ता सामान्य विषयमै चलचित्र पत्रकारहरु रुमल्लीरहेको बताउँदै उनले विषयका विभिन्न आयामहरु केलाएर यथार्थलाई उजागर गर्ने पत्रकारहरुको आवश्यक्ता औँल्याए । स्रोत र पत्रकारबिचको सम्बन्धसँगै कलाकार र चलचित्र पत्रकारबिचको सम्बन्धले पेशागत मर्यादालाई असर गर्न नहुने बुझाई उनको थियो ।
पहिलो दिनको शुरुका २ सत्र सकिएसँगै साढे १ बजेतिर खाना खाने समय छु्ट्याइयो । त्यो समयको पनि कतिपयले भरपुर फाइदा उठाए । खाना खाँदै गर्दा सहभागीहरुले त्यस अघिका सत्रहरुमा उठेका विषयवस्तुका सम्बन्धमा पनि चर्चा गरेका थिए । कोही भने प्रशिक्षकसँग र अन्य अतिथीहरुसँग सेल्फी तथा फोटो खिचाउनमा व्यस्त देखिन्थे ।
चलचित्र प्रसंशा र विश्व सिनेमाको परिप्रेक्ष्यका विषयमा लेखक तथा निर्देशक प्रकाश सायमीले वृतान्त सुनाए । उनले फ्रान्स, बेलायत, अमेरिकादेखि भारत हुँदै नेपालसम्मको चलचित्रको अवस्थाका बारेमा प्रकाश पार्दै अध्ययन र अनुभव आदानप्रदान गरे । सिनेमालाई सफल र असफल बनाउन पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले इतिहासमा पनि फिल्मलाई पृथक बनाउन पत्रकारले खेलेको भूमिकाको सन्दर्भ कोट्याए ।
निरन्तरता र लगतशिलताले सफलता
बरिष्ठ फोटो पत्रकार बिकास रौनियारले पत्रकारका लागि फोटोको आवश्यक्तासँगै चलचित्र फोटोग्राफीका बारेमा वर्णन गरे । फोटोग्राफीका लागि दृढ इच्छाशक्ति हुनुपर्ने आवश्यक्ता औँल्याउँदै उनले निरन्तरता र लगनशिलताले सफलता प्राप्त हुने विश्वास दिलाए । तस्बिर बनावटी हुन नहुने उनको सुझाव छ । जस्तो छ त्यस्तै सरल र सहज ढंगले चित्रमार्फत देखाउन सक्ने कला नै उनको बुझाईमा फोटोग्राफी हो । आफुले खिचेका विदेशी कलाकारहरु तस्बिर समेत उनले सहभागीहरुलाई देखाए । रौनियारको सत्र नै पहिलो दिनको अन्तिम सत्र थियो ।
‘आज हामी केही समय ढिला भयौँ, भोली भने समयमै सबै जना उपस्थित हुनुहोला’ भन्ने कार्यक्रम उद्घोषक पराजुलीको आग्रहलाई अधिकांशले टेरेनन् भन्दा फरक नपर्ला । बिहान ९ बजेदेखि नै शुरु हुनुपर्ने दोस्रो दिनको पहिलो सत्र साढे १० बजे मात्रै शुरु भयो ।
कन्टेन्ट क्रेटर र पत्रकार
साइबर क्राइम र मनोरञ्जन पत्रकारिताका विषयमा उकेरा डटकमका प्रधान सम्पादक केपी ढुङ्गानाले प्रशिक्षण शुरु गरे । उनले शुरुमै मनोरञ्जन र फिल्म पत्रकार भन्ने शब्दमै आपत्ती जनाए । ‘म अपराधका विषयमा कलम चलाउँछु, तर म अपराध पत्रकार हैन, सुरक्षा पत्रकार भन्न रुचाउँछु, त्यस्तै तपाईहरु पनि मनोरञ्जन पत्रकार हैन, कला पत्रकार हो’, ढुङ्गानाले थपे, ‘कला भन्ने बित्तिकै मेरो मस्तिष्कमा युट्युब आउँछ, जसका प्रति मेरो धारणा नकरात्मक छ ।’
व्यक्तिगत एवम् पारिवारीक सम्बन्धदेखि अन्य अनावश्यक विषयप्रति युट्युबरहरुको ध्यान गएकोप्रति असन्तुष्टी जनाउँदै उनले अन्य सम्वेदनशिल विषयहरुप्रति पनि बोल्न र कलम चलाउन आग्रह गरे । युट्बरलाई कन्टेन्ट क्रेटरको संज्ञा दिँदै उनले युट्युबर पत्रकार नै नभएको जिकिर गरे । विद्युतिय कारोवार ऐनको दफा ४७ अनुसार दण्ड तथा जरिवानासमेत पर्न सक्ने हुँदा सजग भई सामाजिक विषयवस्तु र सार्वजनिक महत्वका विषयमा पत्रकारिता गर्नुपर्ने उनको निस्कर्ष थियो ।
कथा र दृश्यको तादम्यता
ढुंगाना पछि दृश्य भाषा र कथाका बारेमा प्रशिक्षण दिने पालो थियो बरिष्ठ पत्रकार विष्णु घिमिरे (कल्पित) को । वास्तविकताको रचनात्मक उपचार (क्रेयटिभ ट्रिटमेन्ट अफ याक्चुआलिटी) को अवधारणालाई आत्मसाथ गरिएको दृश्य दर्शकले रुचाउने धारणा उनको छ । कथावस्तुसँगै दृश्य पनि बग्नुपर्ने बताउँदै उनले दृश्य एकातिर र कथा अर्कैतिर हुनाका कारण पछिल्ला चलचित्रहरु निरन्तर फ्लप हुँदै गएको तर्क गरे । कथा र दृश्यबिचको तादम्यता नमिल्दा दर्शकहरुलाई नुनबिनाको तरकारी खाएजस्तै आभाष हुने उनको भनाई छ ।
उनले भने, ‘यहाँ निर्देशहरु नै जान्ने बन्ने प्रवृती हाबी छ, जसले गर्दा छायांकारले पनि निर्देशकले नै भनेबमोजिमका दृश्यहरु उतार्नुपर्छ । यसका साथै कतिपय अवस्थामा निर्माताले पनि लगानी गर्न नसक्ने हुँदा गुणस्तर बृद्धी हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । पत्रकार राम्रो प्रस्तोता हुनुपर्ने बरिष्ठ पत्रकार नरेश भट्टराईको भनाई छ । उनले प्रस्तुती र अभिनयका सम्बन्धमा चर्चा गर्दै २६ वर्षसम्मको रेडियो, टेलिभिजनदेखि स्टेज कार्यक्रम प्रस्तोता हुँदासम्मको अनुभव सुनाए ।
कार्यशालाको अन्तिम सत्र सकिए लगत्तै चलचित्र पत्रकारिताको महत्वका बारेमा अन्तरक्रिया गरिएको थियो । बरिष्ठ पत्रकार बिजय रत्न तुलाधरसँगै चलचित्र पत्रकार संघका पूर्व अध्यक्षद्वय शान्ती प्रिय र बिदुर गिरी वक्ता थिए भने संघका संस्थापक सदस्य डब्बु क्षेत्रीले सहजकर्ताको भूमिका निर्वाह गरे । चलचित्र पत्रकारिता गर्ने क्रममा आउने उतारचढावसँगै केही कला पत्रकारले भोगेको अनुभव र सत्य घटनाका बारेमा पनि व्यापक चर्चा चल्यो ।
पत्रकार बिजय आवाज, सुजन श्रेष्ठ र उत्सव रसाईलीको अनुभवलाई समेट्दै सहजकर्ता क्षेत्रीले वक्ताहरुलाई प्रश्न सोधेका थिए । नायक, नायिकासँगै कलाकारहरुको अश्लिल तथा आपत्तीजनक तस्बिर वा भिडियो बाहिरिएमा छाप्न हुने वा नहुने विषयमा दुई थरी मत बाँझीएका थिए । एकथरीले जस्ताको तस्तै नछापी दर्शक, श्रोता र पाठकले सहज लिने किसिमले परिमार्जन गरी जानकारी दिन प्रकाशन वा प्रसारण गर्नुपर्ने बताए भने अर्को थरीले प्रकाशन वा प्रसारण गर्न नहुने धारणा राखेका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र जगतको बृद्धि विकासमा चलचित्र पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । विगतका दिनमा पनि राज्यले मूल्यांकन गर्दै आएको बताउँदै उनले आगामी दिनमा पनि सम्मान, पुरस्कार लगायतबाट मूल्यांकन हुने विश्वास दिलाए । कलाकारको मनोबल बढ्ने किसिमले सुझावपूर्ण ढंकले समाचार लेख्न सुझाव दिँदै उनले चलचित्र पत्रकारको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका निम्ती बिकास बोर्डले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमको समापन गर्दै चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले कार्यशालामा सिकेका कुरालाई व्यावहारमा लागु गर्न आग्रह गरे । चलचित्र पत्रकार संघको नजिकिदै गरेको महाधिवेशनका सन्दर्भ उनले कसैको बहकाउमा नलाग्न पनि सुझाव दिए । महाधिवेशनमा एकअर्कालाई उचाल्ने र पछार्ने जस्ता क्रियाकलाप हुनेतर्फ सचेत गराउँदै उनले आफै चनाखो भई राजनीति भन्दा पनि काम गर्नुपर्नेमा जोड दिए ।