वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय राजनीतिक समिति सदस्य एंव पुर्व वनमन्त्री प्रदीप यादवले लागि काँग्रेस र कम्युनिष्ट दुवै धोखेबाज रहेको बताएका छन् ।
बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य समेत रहेका यादवले यस्तो बताएका हुन् । जसपाका लागि दुवै दल धोखेबाज भएपनि मंसिर ४ को निर्वाचनमा जसपाको अस्तित्व रक्षाका लागि एमालेसंग चुनावी तालमेल गर्नु परेको उनले बताए । एमालेसंग चुनावी तालमेल गरेकै कारण आज जसपाको अस्तित्व जोगिएको पनि उनको भनाइ छ ।
उनले भने ,‘ तुलना नै गर्ने हो भने हामी मधेसी माथि सबै भन्दा बढि दमन , शोषण र अत्याचार काँग्रेसले नै गर्दै आइरहेको छ , कम्युनिष्ट पनि कम भने छैनन् ।
यसअघिको गठबन्धनमा रहदाँ काँग्रेसले चुनावमा जसपाको अस्तित्व नै नामेट पार्ने षडयन्त्र गरेपछि बाध्य भएर एमालेसंग तालमेल गर्नु परेको यादवले बताए ।
यादवले भने ,‘ कम सिट आयो भनेर अहिले सबै दोष अध्यक्ष उपेन्द्र यादवलाई मात्र थोपर्नु जायज होइन किन कि एमालेसंग तालमेल गर्न पार्टी अध्यक्षलाई हामीले पनि भनेका थियौं ।
अध्यक्ष उपेन्द्र यादव एकपटक चुनाव हार्दैमा उनको नाम राष्ट्रिय राजनीतिबाट नमेटिने जिकिर गर्दै यादवले भने ,‘ भारतमा प्रधानमन्त्री इन्दिरा गान्धी जस्ता चर्चित नेतृले पनि चुनाव हारेकि थिइन् , त्यो कुनै ठूलो कुरा होइन , उपेन्द्र यादवकै कारण देशले संघीयता पाएको हो , मधेसले पहिचान पाएको हो ।
जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई अध्यक्ष उपेन्द्र यादव , केन्द्रिय सदस्य मधेस प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्धी , केन्द्रिय सदस्य एंव वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण जसपा पर्साका सचिव तबरेज अहमदले गरेका थिए ।