वीरगन्ज । पर्सा राष्ट्रिय निकुञ्ज तथा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेका खोलाबाट नदीजन्य पदार्थ उत्खननमा नेपाल सरकारले राजस्व बढाएको गुनासो गरिएको छ । जसका कारण सो क्षेत्रका सर्वसाधारणलाई निकै समस्या भोग्नुपरेको छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने ठोरी गाउँपालिकाको पाँचवटै वडा तथा जीराभवानी गाउँपालिकाका वडा नं १ र २ का केही क्षेत्रमा रहेका खोलाबाट बालुवा, गिट्टी तथा बोल्डर उत्खननमा एक हजार प्रतिशतभन्दा बढी वृद्धि भएकामा स्थानीयले गुनासो गरेका छन् । गत आव २०७८/७९ मा नदीजन्य पदार्थ उत्खनन गर्दा बालुवा र ग्राभेल प्रतिटेलरमूअकरसहित रु ७० थियो । त्यस्तै, गिट्टी रु ८३ र बोल्डर रु २०४ मूअकरसहित प्रतिटेलर राजस्व रहेको सुनाखरी उपभोक्ता समिति, सुवर्णपुरका अध्यक्ष भीमबहादुर पाख्रिनले बताए । तर चालू आवमा निकुञ्जले बालुवा, ग्राभेल प्रतिटेलर रु आठ सय, गिट्टी प्रतिटेलर रु एक हजार र बोल्डर प्रतिटेलरको रु एक हजार १०० राजस्व लिएको अध्यक्ष पाख्रिनले बताए । जसका कारण यस क्षेत्रका सर्वसाधारण मर्कामा परेको अध्यक्ष पाख्रिनले बताए । जङ्गलको सीमासँग जोडिएका यस क्षेत्रका बासिन्दाहरूले जङ्गली जनावरबाट दुःख झेल्दै आएकामा नदीजन्य पदार्थमा सरकारले राजस्व बढाउनु गलत भएको स्थानीयले गुनासो गरेका छन् ।
यस सम्बन्धमा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा अशोक रामले नेपाल सरकारको मन्त्रिपरिषद्बाट राजस्व बढाइएको बताए । उनले यसमा आफूले केही गर्न नसक्ने बताउँदै सरकारको निर्देशन पालना गरिरहेको बताए ।
पर्सा जिल्लामा नदीजन्य पदार्थ उत्खनन कार्यका लागि खोलाको टेन्डर नहुँदा विकास निर्माण कार्य पूर्णरूपमा प्रभावित भएको छ ।
जिल्लाका स्थानीय तहमा चालू आव २०७९/८० मा विकास निर्माणका योजनाहरू सञ्चालनमा आए पनि नदीजन्य पदार्थ अभावमा रोकिएका छन् । जीराभवानी गापामा रहेका भलुवाही र ओरिया खोला, पटेर्वासुगौली गापामा रहेका भलुवाही र गादी खोलाको ठेक्का खुल्न सकेको छैन ।
जीराभवानी गापाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जीराभवानी गापा अन्तर्गत पर्ने भलुवाही खोलाको टेन्डर भइसकेको र उत्खननका लागि आवश्यक प्रक्रिया भइरहेको बताए । एक साताभित्रै नदीजन्य पदार्थ उत्खनन हुने अधिकृत मेहताले बताए ।
पटेर्वासुगौली गापाको ऊर्जा तथा वातावरण शाखाका प्रमुख निर्मल सिंहले पटेर्वासुगौली गापामा पर्ने भलुवाही र गादी खोलाको उत्खननको लागि बोलपत्र आह्वान भइसकेको बताए ।