वीरगंज । पर्सा जिल्लाको ग्रामीण भेगसँग बीरगञ्जलाई जोडिने तिलावे पुल पुरानै लयमा फर्किएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा यो पुलको हतारहतारमा उद्घाटन भएको थियो ।
पुलको दुवैतर्फको पहुँचमार्ग निर्माण नभएरै चुनावको मुखमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री महम्मद इस्तियाक राई र वनमन्त्री प्रदीप यादवले उद्घाटन गरेका थिए । उद्घाटनपछि अहिले चुनाव सकिए लगत्तै नयाँ पुलबाट आवतजावत रोकिएको छ र पुरानै पुलबाट सवारी साधनको आवागमन हुँदैछ ।
निर्वाचनको समयमा पुलको उद्घाटन गराएर वाहवाही लुट्ने काम तत्कालीन मन्त्री र तीसँग जोडिएका पार्टीले गरेका थिए तर अहिले पुल हतारमा उद्घाटन भएको र सोको निर्माण कार्य बाँकी भएकै कारण ठेकेदारले नयाँ पुलबाट आवागमन बन्द गराएको छ । अहिले पुरानै तिलावे पुलबाट सवारी आवागमन भइरहेको छ ।
पुरानो पुल एकतर्फीरूपमा मात्र सञ्चालन हुन सक्ने भएकोले दोहोरो सवारी आवागमन अहिले हुन सकेको छैन । सो ठाउँमा पुरानै पाराले घण्टौंसम्म सवारी जाम हुने गरेको छ । एकतर्फी पुलको कारण अहिले लामो लाम लाग्ने गरेको देख्न सकिन्छ । पुलको पूर्व–पश्चिम दुवैतर्फ तीन–तीन मिटर लम्बाइ र एघार–एघार मिटर चौडाइ तथा खोलाको पूर्र्वी किनारमा १५५ र पश्चिम किनारमा १६५ मिटर लामो तटबन्ध निर्माण गरिंदै छ । पुलको सुरक्षाको लागि २० मिटर लामो र सात मिटर चौडा एप्रोच साइट ग्याभलिनसमेत निर्माण भइरहेको छ ।
यसैगरी तिलावे नदीमा आठवटा ह्युमपाइप पनि जडान गरिएको छ । पुल निर्माण नहुँदा हतारमा उद्घाटन गरिएको र उद्घाटन गरिएको लामो समय बितिसक्दा पनि अधूरो काम सम्पन्न नगरेको भन्दै हुलाकी राजमार्ग निर्देशनालय कार्यालय वीरगंजले ठेकेदार कम्पनीलाई कारबाईको चेतावनी दिएपछि अहिले काम शुरू भएको हो ।
काम शुरू भएपछि नयाँ तिलावे पुलबाट सवारी आवागमन रोकिएको छ भने पुरानोबाट सञ्चालन हुने गरेको छ ।
तिलावे पुल निर्माणको लागि शुरूमा लुम्बिनी/पप्पु जेभीले ठेक्का सकार गरे पनि पछिल्लो समयमा पप्पुले सो परियोजनाबाट हात झिकेको थियो र लुम्बिनीले मात्र काम गर्दै आइरहेको थियो । तर पुलको उद्घाटनमा पप्पु कन्स्ट्रक्शनका पूर्वसञ्चालक एवं सांसद हरिनारायण रौनियारले विशेष चासो देखाएका थिए । उनको छोरी प्रदेशसभा सदस्यमा चुनाव लडेको कारण चुनाव अगावै उनले यो पुल उद्घाटनमा चासो देखाएका थिए ।
उद्घाटनपछि आधा अधूरो पुल पूरा गर्नेतर्फ कसैले सक्रियता नदेखाएपछि हुलाकी कार्यालयले यसबारे ठेकेदारलाई चेतावनी दिएको र त्यसपछि काम शुरू भएको हो ।