वीरगञ्ज । नेकपा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले विचारमा अस्पष्ट सेनाले लडाइँ लड्न नसक्ने बनाउनुभएको छ ।
प्रेस चौतारी नेपालको दोस्रो केन्द्रीय समिति बैठकलाई सोमबार वीरगञ्जमा सम्बोधन गर्दै गुरुङले हरेक पार्टी र संगठन अनुशासित र विचारमा स्पष्ट हुनु पर्ने बताउनुभयो । ‘अनुशासन प्रमुख कुरा हो, निर्देशनको पालना प्रमुख कुरा हो’, उहाँले भन्नुभयो ।
नेकपा एमाले र त्यसका जनवर्गीय संगठन जनवादी केन्द्रीयताको सिद्धान्तमा चल्ने र चल्नु पर्ने उहाँले बताउनुभयो । ‘केन्द्रीयता विनाको जनवाद अराजक हुन्छ, जनवाद विनाको केन्द्रीयता निरङ्कुश हुन्छ’, उहाँले भन्नुभयो ।
आम मानिसर कम्युनिष्ट हुनुमा तात्त्विक भिन्नता रहेको उहाँले बताउनुभयो । ‘कम्युनिष्ट पार्टीमा व्यक्ति प्रधान होइन, संगठन प्रधान हुन्छ’, उहाँले भन्नुभयो ।
नेतृत्व गर्ने व्यक्तिमा आलोचना सुन्ने क्षमता हुनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘नेता भए पछि सुन्न सक्नु पर्छ, आलोचनलाई विरोधको रूपमा बुझ्ने परिपाटी छ, आलोचना सुधारको लागि हो, त्यो रचनात्मक हुन्छ’, गुरुङले भन्नुभयो ।