वीरगञ्ज । नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले संगठनको निर्णय सबैले शिरोपर गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल केन्द्रीय समितिको बैठकलाई सोमबार वीरगञ्जमा सम्बोधन गर्दै रिजालले निर्णय गर्नुअघि व्यापक बहस गर्नुपर्ने तर निर्णय गरेपछि त्यसलाई सिरमा बोकेर हिँड्नु पर्ने बताउनुभयो । एउटा क्लब र पार्टी संगठनको भिन्नता यही भएको उहाँले प्रष्ट पार्नुभयो ।
फरक प्रसङ्गमा नेपाली प्रेसमा रवि लामिछानेको अभिव्यक्ति पछि नयाँ तरङ्ग आएको उहाँले बताउनुभयो । नेपाली प्रेसलाई दुरुपयोग गर्नेको पर्दाफास भएको उहाँले बताउनुभयो । अहिले त्यस्ता धेरै व्यक्तिहरू डराएका उहाँको भनाइ छ ।
नेकपा एमालेलाई असफल गराउन केही मिडिया नियोजित र नियतवश लागेका उहाँले बताउनुभयो । नियोजित प्रचारकै कारण गएको निर्वाचनमा नेकपा एमालेको मत घटेको उहाँको विश्लेषण छ । ‘एमालेका विरुद्ध नियोजित प्रचार गरियो’, उहाँले भन्नुभयो ।
नेकपा एमालेलाई अहिले पनि लोकतन्त्र विरोधी शक्तिको रूपमा कु-प्रचार गर्ने काम भइरहेको उहाँले बताउनुभयो । नेकपा एमालेले कति समयसम्म लोकतन्त्रको सर्टिफिकेट देखाइरहनुपर्ने, एमालेले कहिलेसम्म लोकतन्त्रको परीक्षा दिइरहनु पर्ने ?’ उहाँले प्रश्न गर्नुभयो ।
नेपाली कांग्रसले गरेका सबै कामलाई लोकतन्त्रको लागि गरिएको भनि परिभाषित गरिने तर लोकतन्त्रको लागि लगातार लड्दै आएको एमालेले गरेका हरेक कामलाई लोकतन्त्र विरोधी भनि परिभाषित गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो ।
अहिले राजनीतिक समीकरणमा फेरबदल आएको बताउँदै रिजालले यसलाई जोगाएर अघि बढाउन जरुरी रहेको बताउनुभयो । एमाले विरुद्ध लागेका शक्तिहरू फुटेर केही शक्ति एमालेसँग मिल्न आएको र यसलाई जोगाएर लैजानु पर्नेमा उहाँले जोड दिनुभयो । माओवादी पार्टी र उसका जन वर्गीय संगठनहरुसँग माथिदेखि तलसम्म कार्यगत एकता गरेर अघि बढ्नु पर्ने उहाँले बताउनुभयो ।