वीरगन्ज । पर्साको वीरगन्जमा एक भारतीयलाई हतियार देखाएर अपहरण गरि लुटपाट गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ । भारत बिहारका विशाल कुमार पटेवालाई वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रेल्वे रोडबाट माघ २६ गते गत बिहीबार दिउँसै हतियार देखाएर अपहरण गरि उनको साथमा रहेको नगद रकम लुटपाट गरेका ८ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको होे ।
गत बिहिवार वीरगन्ज रेल्वे सडकखण्डबाट उक्त गिरोहलाई पक्राउ गरिएको पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका सद्धाम अन्सारी, वडा नम्बर ११ श्रीपुरका सन्तोष लामा, मोजालिम मियाँ र रोशन थापा , वडा नम्बर २४ रामगढवाका विजय महतो , बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ का नबाब हुसेन, कलैया उपमहानगरपालिका वडा नम्बर २३ का मुकेश पटेल र भारत बिहारको मोतिहारीका इमाम अन्सारी रहेका छन् ।
प्रहरीका अनुसार , बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ घर भएका नातामा मामा पर्ने सुभाष साहलाई गत बिहीबार सापटी दिन भनि ६ लाख ५० हजार रुपैया लिएर आएका बेला बाटोबाटै पटवालाई अपहरणकारीहरुले अपहरण गरेका थिए । उक्त सुचना पाए लगत्तै प्रहरी निरिक्षक प्रज्वल थपलिया नेतृत्वको टोलीले पछ्याउदै जादा अपहरणकारीहरु पटवाको साथमा रहेको रकम लुटेर वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वामा उनलाइ छाडेर भागेका थिए ।
खोजतलाशका क्रममा उनिहरुलाई गत बिहीबार नै रेल्वे रोडबाट पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक शाहले बताए ।
पक्राउ परेकाहरु यस अघि उक्त गिरोह भारतका विभिन्न आपराधिक घटनामा पनि संलग्न रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरी नायब उपरीक्षक दिपक गिरिले बताए । पक्राउ परेकाहरुको साथबाट अपहरणमा प्रयोग गरिएको १ थान पेस्तोल, ५ राउण्ड गोली, ४ लाख ९५ हजार नगद, ना १९ प २८०८, ना ६२ प १०० र बिआर १ सिआर २४२५ नम्बरको गरि ३ वटा मोटरसाइकल पनि बरामद गरिएको गिरिले जानकारी दिए ।
पक्राउ परेका आठै जना विरुद्ध अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।