काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरुद्ध फेरि पनि चक्रव्यू रच्न सकिने बताउनुभएकाे छ ।
पार्टीकाे दुई महिने मिसन ग्रासरुट अभियानकाे शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलबाट भर्चुअल रुपमा उद्घाटन गर्दै अध्यक्ष ओलीले यसअघि नि एमाले विरुद्ध चक्रव्यू रचिएकाे र फेरि पनि रच्न सक्ने सम्भावना रहेकाे बताउनुभयाे ।
हरेक परिस्थितिका लागि तयार रहँन नेता-कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'हामीले देखेका छाैं भाेगेका छाैं, निकट विगतमा हामीले जुन प्रकारका समस्याहरु भाेग्याैं, त्यस्ता समस्या आगामी दिनमा भाेग्नुपर्दैन भन्न सकिँदैन, किनभने राजनीतिक शक्तिहरु तीनै छन्, राजनीतिक शक्तिहरुकाे प्रवृत्ति पनि उही छ, त्यसकारण तीनै शक्तिहरुकाे प्रवृत्तिकाे फेरि उस्तै प्रकारकाे चक्रव्यू हुँदैन भन्न सकिँदैन, यस्ताे स्थितिमा हामीले आफूलाई तयार राख्नुपर्छ, बेठिक तरिकाहरुलाई पराजित गर्दै अगाडि बढ्न सक्नेगरी ।'
उहाँले ग्रासरुट अभियाकाे उद्देश्य पार्टीलाई विजयी र सफल बनाउनु रहेकाे बताउनुभयाे । अध्यक्ष ओलीले विभिन्न राजनीतिक शक्तिहरु एमालेसँग स्वस्थ प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा नरहेका बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हामीसँग प्रतिष्पर्धा गर्ने शक्तिहरू हामीसँग स्वस्थ र स्वच्छ प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा छैनन्, तसर्थ उनीहरू अस्वस्थ प्रतिष्पर्धाका अस्वस्थ तरिकाहरु, विधिहरू अपनाउन सक्छन्,हामीले आफूलाई ती सम्पूर्ण अस्वस्थ तरिकाहरुलाई पराजित गर्न सक्नेगरी, स्वस्थ र लाेकतान्त्रिक तरिकाहरु स्थापित गर्न सक्नेगरी, अस्वस्थ तरिकालाई अलाेकतान्त्रिक छन् भन्ने कुरा जनतालाई बुझाएर, अलाेकतान्त्रिकता, भ्रष्टता जस्ता कुरा समाजका मूल्य हुन सक्दैनन् भन्ने कुरा जनतालाई बुझाउनुछ ।'
बेठिक, अस्वस्थ, अलाेकतान्त्रिक, अनूचित, अनपयुक्त, असहिष्णु वा निषेधकारी तरिकाहरु लाेकतान्त्रिक अभ्यास अन्तर्गत नपर्ने भन्दै उहाँले त्यस्ता तरिकाका ठाउँमा विचारमा आधारित, बृहत्, सुदृढ, अनुशासित र सक्रिय संगठनमार्फत यस्ता कुरालाई पराजित गर्नुपर्ने र आफूलाई प्रतिष्पर्धामा विजयी शक्तिका रुपमा स्थापित गराउनुपर्ने बताउनुभयाे ।
गत मंसिर ४ गते सम्पन्न चुनावमा थुप्रै अस्वस्थता भएकाे र एमाले विरुद्ध राज्यसत्ताकाे चरण दुरुपयाेग भएकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'निर्वाचनमा गुण्डा परिचालन गरिए अस्वस्थ मात्रै हाेइन अत्यन्तै खतरनाक क्रियाकलाप भए,शारीरिक रुपमा हमला गर्ने,हाम्रा कार्यकर्ताहरुमाथि हमला हुने, घाइते बनाउने र हत्या गर्नेसम्मका काम भए, यस्ता कुराहरु फेरि पनि आउन सक्छन् भन्ने बुझेर त्यसलाई पराजित गर्ने तयारी गर्नुपर्नेछ ।'
अध्यक्ष ओलीले एमालेका प्रतिष्पर्धीहरुले बुझीबुझी लाेकतान्त्रिक मूल्य मान्यताकाे उल्लंघन गरिरहेका र जसरी पनि जित्नुपर्छ भन्ने उनीहरुकाे नियत नबदलिएकाे बताउनुभयाे । उहाँले लाेकतान्त्रिक बाटाेमा हिँड्न र त्यस अभ्यासमा चल्न उनीहरुलाई एमालेले वाध्य पार्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'यसका निम्ति बलियाले मात्र बेठिक कुरालाई प्रतिराेध गर्न सक्दछ, राेक्न सक्दछ, कमजाेरले आग्रह गर्ने मात्र हाे, हामी आफ्नाे हैसियतलाई नितान्त आग्रह र अनुराेध गर्ने हैसियतमा राख्छाैं कि प्रतिराेध गर्ने राेक्न सक्ने हैसियतमा उठाउँछाैं प्रश्न याे हाे,हामीले आफ्नाे शक्तिलाई अनेक हिसाबले सर्वाधिक मजबूद शक्तिका रुपमा ध्यान दिनुपर्छ ।'
उहाँले विगतमा पार्टी संकटमा पर्दा युवा विद्यार्थी आन्दाेलनमा उत्रिएकाेमा धन्यवाद दिँदै उहाँले संगठनात्मक पक्ष भने त्यसअनुसारकाे हुन नसकेकाे बताउनुभयाे । पार्टी र पार्टीकाे संगठनात्मक जीवन केही कमजाेर भएकाे भन्दै अध्यक्ष ओलीले त्यसलाई सुधारेर पार्टीलाई अझ सुदृढ बनाउनुपर्ने बताउनुभयाे । एमालेसँग विचारमा अन्याैल र दुविधा केही नभएकाे बताउनुभयाे ।