जनकपुरधाम । दिलीप महतोका बुबा रामजीवन छोरी लक्ष्मी र संगमका साथ शुक्रबार बिहान १० बज्दानबज्दै धनुषा जिल्ला अदालत पुगे । उनका उदाश आँखाले इजलास नं. ६ ताकिरहेका थिए । कति बेला न्यायाधीश आउलान् र दिलीपको हत्यामा दोषी ठहर भएका ३ जनालाईसजाय सुनाउलान् भन्ने पर्खाइमा थिए उनी ।
अपरान्ह ४ बजेतिर न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले दिलीप हत्याका मुख्य दोषी विपीन महतो र मुख्य सहयोगी मुनिन्द महतोलाई २५–२५ वर्ष कैद र क्षतिपूर्ति वापत पाँच–पाँचलाख रुपैयाँ जरिवाना हुने फैसला सुनायो ।
मतियारको जितेन्द्र महतोलाई पनि साढे १२ वर्ष कैद र साढे दुई लाख रुपैयाँ जरिवाना हुने फैसला आएको छ ।
इजलास अधिकृत विष्णु भट्टराईका अनुसार दोषीहरुको सम्पतिबाट क्षतिपूर्ति वापतको रकम अशुल नभए सरकारको विपन्न खाताबाट परिवारजनलाई उपलब्ध गराउने अदालतको आदेश छ ।
इजलासले ३ फागुनमा विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर गरेको थियो । विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवले भने सफाइ पाएका थिए ।
चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र उनका दुई सहयोगीलाई अदालतले तोकेको सजायप्रति पीडित परिवार भने असन्तुष्ट छ । उनीहरुलाई आजीवन कैद हुनपथ्र्यो भन्दै दिलीपकी बहिनी लक्ष्मी भन्छिन्, ‘चार जनालाई त अदालतले सफाइ दियो । यसमा पनि हाम्रो चित्त बुझेको छैन ।’
चार जनालाई सफाइ दिने फैसलाविरुद्ध उच्च अदालत जाने रामजीवन बताउँछन् ‘तीन जनाले मेरो छोराको हत्या गर्दा बचाउन नखोजी हेरेर बस्नेहरु पनि हाम्रो नजरमा दोषी छन्’, उनले भने, ‘उनीहरुलाई पनि सजाय नभएसम्म मेरो छोराको आत्माले शान्ति पाउँदैन, हामी परिवारलाई पनि चैन मिल्दैन ।’ बिनामुचुल्का शव उठाउने इलाका प्रहरी कार्यालय ढल्केबरका तत्कालीन इन्सपेक्टर रामकुमार यादव र मिथिला नगरपालिका वडा नं. ५ का तत्कालीन वडाध्यक्ष श्याम यादवलाई अभियुक्त नै नबनाएकोमा पनि महतो परिवार असन्तुष्ट छ ।
२५ पुस २०७६ मा घरभन्दा ५०० मिटर पर औरही खोलामा २४ वर्षीय दिलीप महतोको हत्या भएको थियो । बिहान ४ बजे डोजर चल्न थालेको थाहा पाएपछि साथी रोशनलाई लिएर उनी खोलामा पुगेका थिए । दिलीपको हत्या भएको खबर रोशनले नै ल्याएका थिए ।
दिलीपलाई पहिले उद्योगमा पेचकसले काँखीमा घोचेर बेहोस पारिएको थियो । त्यसपछि ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर सवारी दुर्घनाको अवस्था सिर्जना गर्न खोजिएको थियो । प्रहरीले घटनास्थलको मुचुल्का नै नगरी शव उठाएको थियो ।
रामजीवन महतोका ६ छोरी र दुईछोरा मध्येमा जेठो थिए दिलीप । उनी भारतको भोपालमा बीई तहको अन्तिम परीक्षा दिएर घर आएका थिए ।
उनी सिभिल इन्जिनियरिङ पढ्न भोपाल जानुभन्दा अगाडि नै गाउँ छेउछाउका खोलादोहन विरुद्ध अभियानमा थिए । मारिनुभन्दा डेढ वर्षअघि दिलीपले आफ्नो गाउँपश्चिमको बसही खोलामा पत्रकार सम्मेलन गरेर क्रसर माफिया बिरुद्ध लड्ने घोषणा गरेका थिए । ढुंगा–गिटी–वालुवा कारोबारीका लागि उनी पहिल्यैबाट टाउको दुखाइ बनेका थिए । अन्ततः उनको हत्या भएको थियो । हत्याको केही समयपछि आएको बीई तहको नतिजामा उनी सफल भएका थिए ।
हत्यापछि क्रसर चल्दै, खोलामा वितण्डा
दिलीपको हत्यापछि गाउँलेहरुले क्रसर उद्योग चलाउन नदिने निर्णय गरेका थिए, तर साधारण तारेखमा रिहा भएका विनोद महतोले उद्योग सञ्चालन गरे ।
दिलीपका परिवार र गाउँलेले रोकेपछि विनोदले २० चैत २०७७ मा दिलीपका बुवा रामजीवन, आमा चन्द्रकलादेवी, बहिनीहरू संगम र लक्ष्मीविरुद्ध उच्च अदालत जनकपुरमा निषेधाज्ञा रिट दर्ता गराए । ३१ चैतमा रिटमा सुनुवाइ गर्दै उच्च अदालतले उद्योग सञ्चालनमा हस्तक्षेप नगर्न आदेश दियो । त्यसयता क्रसर चलिरहेको छ र, औरही खोलामा १५ फिटसम्म गहिरो उधिनिएको छ ।
छोरा मारिएको खोलामा चलेको यो क्रसरले हामीलाई गिज्याइरहेको छ’, रामजीवन महतो भन्छन्, ‘प्रहरी प्रशासन, नेता सबै मिलेका छन् । मेरो छोरा व्यर्थै मारिएजस्तो लागिरहेको छ ।’