वीरगञ्ज । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्याय सम्पादन गर्न नसक्दा निराशा बढ्दै जाने हुँदा यसको निरुपणका लागि सर्वोच्च अदालतले अभियान सञ्चालन गर्न लागेको बताउनुभएको छ ।
‘पेशागत उत्कृष्टता, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आजबाट वीरगञ्जमा सुरु भएको कानुन व्यवसायी महिलाहरूको ३० औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले न्याय सम्पादनमा ढिलाइ हुँदा न्याय मरिसक्ने बताउनुभयो ।
उहाँले अहिले सर्वोच्च अदालतमा ५ वर्ष नाघेका मुद्दाहरूको टुङ्गो लगाउने अभियानमा आफूहरू जुटेको बताउँदै १५ दिनभित्र म्याद दिएर फैसला गर्दा ४ हजार ८ सय मुद्दा ४५ सयमा झरेको बताउनुभयो ।
प्रधानन्यायाधीश कार्कीले उच्च अदालतहरूमा १ चौथाइ न्यायाधीशहरूको पद खाली भएको र जिल्ला अदालतहरूमा २९ जना न्यायाधीशहरूको नियुक्तिका लागि लोक सेवा आयोगलाई आग्रह गरिएको बताउँदै बार एसोसिएसनलाई लयर्स एकेडेमी स्थापना गर्न आग्रह गर्नुभयो ।
महिला अधिवक्ताहरू हिजोसम्म न्याय, विभेदको विरुद्ध लडेको र अब समान अधिकारका लागि लड्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आफ्नो दक्षता र क्षमता अभिवृद्धि गर्दै महिलाहरूले आफ्नो स्थान आफैँले बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले एक वर्षभन्दा बढी समयदेखि कामु प्रधानन्यायाधीशबाट न्यायालय चलेको बताउनुहुँदै कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले सम्मेलन गफ गर्ने अखडा नभई प्रतिफल पाउने गरी काम गर्ने स्थल बनोस् भन्नुहुँदै जबसम्म न्यायालयमा सक्षम न्यायाधीश नियुक्ति हुँदैन तबसम्म न्यायालय स्वच्छ र निष्पक्ष बन्न नसक्ने दाबी गर्नुभयो ।
नेपाल बार एसोसिएसन महिला समितिकी अध्यक्ष आशा राईको सभापतित्वमा सुरु भएको उद्घाटन सत्रमा बारका उपाध्यक्ष हर्क बहादुर राउत, पशुपति भण्डारी, तुरा राम गिरी, सुधिर कर्ण, अमृता खनाल, भरत बहादुर राउत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन सत्रको सहजीकरण किरण कुमारी साहले गर्नुभएको थियो ।
वीरगञ्जमा आगामी फागुन १४ गते सम्म हुने राष्ट्रिय सम्मेलनले वीरगञ्ज घोषणा पत्र जारी गर्ने अध्यक्ष राईले बताउनुभयो । कानुन व्यवसायी महिलाहरूको सम्मेलनमा करिब ४ सय भन्दा बढी महिला कानुन व्यवसायीको सहभागिता रहेको छ ।
यसैबिच भोलि नेपाल बार एसोसिएसनको केन्द्रिय कार्यकारिणी परिषद्को ४८ औ बैठक समेत वीरगञ्जमा हुने भएको छ । बैठकको उद्घाटन कानुन मन्त्री ध्रुव बहादुर प्रधानले गर्नुहुने कार्यक्रम रहेको छ । रेडियो नेपाल