रौतहट । लागुऔषध कारोबारमा सजाय पाएका एक कैदी मेला घुम्न जान्छन, सहर डुल्छन अनी होलि मनाउन घर समेत गएर फेरी कारागारमा फर्कन्छ भन्दा अचम्म लाग्न सक्छ । तर रौतहटमा यो सम्भव छ ।
गौरमा रहेको रौतहट जिल्ला कारागारमा १५ वर्ष कैद र ५ लाख जरिवानाको सजाय अदालतले सुनाएका कैदी पवन यादव रौतहटका मेलाहरुमा घुम्दै रमाइलो गर्छन र फेरी कारागारमै फर्कन्छन । जिल्ला कारागार कार्यालयमा लागूऔषध ब्राउन सुगर कारोबार अपराधमा सजाय पाएर कैद भुक्तान गरीरहेका कैदी होली मनाएर घरबाट फर्कदै गर्दा दुर्घटनामा परेपछि जिल्ला कारागारको चर्तिकला बाहिर आएको हो ।
बारा जिल्ला भटिनिया घर भएका पवन यादवलाई ब्राउन सुगरको कारोबार गरेको मुद्दामा जिल्ला अदालतले १५ वर्ष जेल र ५ लाख जरीवाना तोके पछि कारागारमा परेका हुन । उनी जेलका कैदीका चौकीदार (नाइके) हुन ।
कारागारमा हुनु पर्ने यादव होली मनाउन बुधवार बारा जिल्ला स्थीत आफ्नो घरमा गएको र फर्किने क्रममा मदिराको मातका कारण रौतहटको परोहा नगरपालिका कार्यालय नजिक रहेको लौकाहा चोकमा मोटरसाइकल दुर्घटना परि गम्भीर घाइते भएका हुन ।
“आमा बिरामी भएको भएर सइले मलाई जानकारी नै नगराएर कैदीलाई बाहिर लगे ।” गौर कारागारका जेलर शम्भू यादवले भने “ बुधवार होलीको दिन ३ बजे तिर सई तेजीलालले कैदीलाई बाहिर निकालेका थिए । कारागार प्रशासनलाई जानकारी नगराएर आफै उनले कैदी पवन यादवलाई बाहिर लगेका थिए ।” कैदी दुर्घटनामा परे पछि मात्रै आफुले घटनाका बारेमा साँझ थाहा पाएको उनले बताए ।
“कारागारमा हुनु पर्ने कैदी बाहिर दुर्घटनामा पर्नुले कारागार भित्र सुरक्षा चुक देखिएको छ ।” जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर बुढामगरले भने “कैदी कसरी बाहिर पुग्यो भन्ने विषयमा छानबिन शुरु भएको छ । कारागारका सुरक्षा इन्चार्ज प्रहरी नायब निरिक्षकलाई प्रहरी कार्यालयमा तानेका छौं ।” जिल्ला कारागारका प्रहरी इन्चार्ज सई तेजीलाल यादवलाई अनुसन्धानका लागी राखेर छानबिन अगाडी बढाएको र दोषीलाई नियमानुसार कारवाही गर्ने एसपी बुढामगरले बताए ।
नाइकेहरु बजारमा तरकारी वा आवश्यक सामग्री किन्न सुरक्षा निकाय र कारागार प्रशासनको अनुमतिमा बाहिर जान पाउने भए पनि आफ्नो क्षेत्रभन्दा बाहिर गएकाले जिल्ला कारागारमा बेथिति रहेको प्रष्ट भएको छ ।
मोटरसाइकल दुर्घटना हुदा खुट्टा भाच्चिएका कैदी चौकीदार यादवको उपचार एल.एस न्यूरो एण्ड जेनरल हस्पिटल प्रा.लि.बिरगंजमा भइरहेको प्रहरीले जनाएको छ ।