१० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम रहने भएको छ।
आईतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले यसबारेमा जानकारी गराएको हो। सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले उनको उम्मेदवारी पनि कायम रहने बताए।
उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र ज्नमत पार्टीबाट दाबी बिरोध परेको थियो।
महिला उम्मेदवार नै हुनुपर्ने दाबी गर्दै उम्मेदवार नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिएका थिए।
तर संविधानको व्यवस्थाअनुसार महिला नै हुनुपर्ने नभएको भन्दै आयोगले यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने स्पष्ट पारेको हो।
‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नगरी लिंग र समुदाय फरक हुनुपर्ने गरी संविधान र कानूनी व्यवस्था भइरहेको देखिँदा खस आर्य समुदाय भन्दा फरक समुदायका पुरुष उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य भन्न सकिँदैन,’ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भने, ‘उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झाको दाबी बिरोध बमोजिम रामसहायप्रसाद यादव उपराष्ट्रपति उम्मेदवारको मनोनयन पत्र खारेज गर्नुपर्ने देखिएन।’
जनता समाजवादी पार्टीबाट प्रमिला कुमारीको पनि उम्मेदवारी रहेको छ। उपराष्ट्रपतिमा कुल ४ जनाको उम्मेदवारी परेको थियो।
यसअघि उपराष्ट्रपति पदका उम्मेदवार यादवले आफूविरुद्ध परेको उजुरीमा जवाफ दिएका छन्।
आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले आफूविरुद्ध परेको उजुरी खण्डन हुने दाबीसहित जवाफ दिएका थिए।
निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन्।
नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् । उम्मेदवारलाई आज ५ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय आयोगले दिएको छ।