देशभरका क्याम्पसमा चैत ५ मा हुने स्वतन्त्र विधार्थी युनियन (स्ववियु ) निर्वाचन वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा भने तीन दिन पछि सरेको छ ।
ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन अब चैत ५ मा नभइ चैत ८ गते हुने भएको छ । क्याम्पसको स्ववियु निर्वाचन समितिले सोमबार साँझ एक सूचना जारी गरि स्ववियु निर्वाचन चैत ८ गते हुने गरि नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
संशोधित नयाँ निर्वाचन तालिका अनुसार , उम्मेदवारको मनोनयनपत्र (समानुपाति र प्रत्यक्ष दुवै) वितरण फागुन ३० गते बिहान ११ देखि दिउँसो २ बजे सम्म , मनोनयनपत्र दाखिला चैत १ गते बिहान ११ देखि दिउँसो २ बजे सम्म , उम्मेदवारको नामावली प्रकाशन चैत १ गते नै साँझ ५ बजे , उम्मेदवार उपरको दाबी विरोध चैत २ गते बिहान ११ देखि दिउँसो २ बजे सम्म , दाबी विरोध उपर छानबिन गरि उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत २ गते साँझ ५ बजे गरिनेछ ।
उम्मेदवारको नामावली फिर्ता लिने समय चैत ३ गते बिहान ११ देखि दिउँसो १ बजे सम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत ३ गते अपरान्ह ३ बजेका लागि तोकिएको छ । यस्तै मतदान भने चैत ८ गते बिहान ८ देखि अपरान्ह ४ बजे सम्म हुने निर्वाचन अधिकृत रोशन लामिछानेले जानकारी दिए ।
ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनका लागि कुल मतदाता संख्या ९ हजार ७०० कायम भएको पनि निर्वाचन समितिले जनाएको छ । यसअघि फागुन २१ गते प्रकाशीत मतदाता सुचीमा मतदाताको संख्या १० हजार २३२ रहेकोमा त्यस बारे विवाद भएपछि क्याम्पसले गठन गरेको छानबिन समितिले छानबिन गर्दा अब कूल मतदाता संख्या ९ हजार ७०० कायम भएको निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए ।
फागुन २१ गते क्याम्पसले प्रकाशन गरेको मतदाता नामावलीमा मतदाता संख्या १० हजार २३२ थियो । तर फागुन २६ गते विधार्थी संघसंगठनहरुले १ हजार भन्दा बढि फर्जि विधार्थीको नाम समेत मतदाता नामावलीमा समावेश गरिएको भन्दै विवाद गर्नुका साथै केहि विधार्थीले त्यहि विषयलाई लिएर क्याम्पसको विधार्थी कल्याण तथा खेलुकद शाखामा आगजनी गरेको थिए ।
त्यसपछि क्याम्पस प्रशासनले तत्कालका लागि निर्वाचन प्रकृया स्थगीत गरि मतदाता नामावली बारे उत्पन्न विवाद सुल्झाउन प्राध्यापक रघुनाथ चौरसियाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । तर चौरसियाले आइतबार अचानक आफु अस्वस्थ्य भएको भन्दै राजीनामा दिएपछि आइतबार नै सहायक क्याम्पस प्रमुख अनिल कुमार रमनको संयोकत्वमा अर्को छानबिन समिति गठन गरेको थियो ।
निर्वाचन अधिकृत लामिछानेका अनुसार , रमन नेतृत्वको छानबिन समितिले फागुन २१ मा सार्वजनिक मतदाता नामावलीको रुजु गर्दा स्नातक तेश्रो वर्षमा भर्ना नभएका स्नातक दोश्रो वर्षका विधार्थीहरुको नाम पनि समावेश गरिएको भेटिएको थियो । त्यसपछि तेश्रो वर्षमा भर्ना नभएका विधार्थीहरुको नाम हटाएर निर्वाचन समितिले सोमबार नयाँ मतदाता नामावली सार्वजनिक गरिएको लामिछानेले बताए । जस अनुसार अब कुल मतदाता संख्या ९ हजार ७०० कायम भएको लामिछानेले जानकारी दिए ।