वीरगञ्ज । कामबाट निकालिएपछि पर्साको धोबिनी गाउँपालिकाका करारका कर्मचारी धर्नामा बसेका छन् । एकै पटक नियुक्त भएका कर्मचारीलाई काखापाखा गरिएको आरोप लगाउँदै धर्नामा बसेका कर्मचारीले गाउँपालिका कार्यालयको मुल गेटमा तालाबन्दी पनि गरेका छन् ।
शुक्रवार बिहान १० बजेदेखि कार्यालयको गेटमा तालाबन्दी गरेर धर्नामा बसेको निकालिएका ल्याब असिस्टेन्ट अर्जनु कुमार साहले बताए । साहकाअनुसार कार्यालयभित्र नगर प्रहरी मात्रै छन् । उनले भने, ‘बिहान १० बजेदेखि नै हामीले गेटमा ताला लगाएर धर्नामा बसेका छौँ, सेवाग्राहीलाई बाहिर निकाली नगर प्रहरीलाई मात्रै हामीले भित्र राखेर तालाबन्दी गरेका हौँ । अहिलेसम्म कोही जनप्रतिनिधि पनि आएका छैनन्, कोही कर्मचारी पनि आएका छैनन् ।’
अर्का कर्मचारी निरज कुमार पटेलले राजनीतिक प्रतिशोधका हिसावले एउटै मितिमा नियुक्त भएका केही कर्मचारीलाई हटाइएको आरोप लगाए । उनले भने, ‘एउटै मितिमा नियुक्त भएका ५१ जनामध्ये हामी १५ जनालाई मात्रै हटाइएको छ । कि त सबैलाई हटाउनुप¥यो हैन भने हामीलाई पनि म्याद थप गरेर नियुक्ती दिनुप¥यो ।’
आन्दोलन गरेको ३ दिन बित्दा पनि जनप्रतिनिधिले कुनै चासो नदिएको हुँदा तालाबन्दी गरी धर्ना बस्न बाध्य भएको अ.न.मि. पिंकी सर्राफको भनाई छ । मागको सम्बोधन नभएसम्म ताला नखोल्ने धर्नामा बसेका कर्मचारीको अडान छ ।
उनीहरुको आन्दोलनमा योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) नेपालका केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला ईन्चार्ज सन्तोष पटेलले पनि ऐक्यबद्धता जनाएका छन् । गाउँपालिकाका अध्यक्ष मदन चौहानले आफ्ना नजिकका कर्मचारीलाई राख्नुका साथै फरक पार्टी र फरक बिचार भएकालाई हटाएको बताउँदै उनले आन्दोलनमा समर्थन जनाएको प्रतिक्रिया दिए ।
गाउँपालिकाकी उपाध्यक्ष मञ्जु देवीकाअनुसार करारमा कार्यरत कर्मचारीलाई हटाउने बारे कार्यपालिका (बोर्ड) बैठकमा कुनै पनि छलफल भएको छैन । अध्यक्ष मदन चौहानले एकलौटी ढंगमा निकाल्न खोज्दा कर्मचारीहरु आन्दोलित भएको उपाध्यक्ष मञ्जुको भनाई छ । उनले भनीन्, ‘अध्यक्ष ज्यूले आफै निर्णय गरेर आफै हस्ताक्षर गरेर हटाउदा विवाद भएको हो । खासमा यस विषयमा बोर्डबाट निर्णय भएर प्रमुख प्रशासकिय अधिकृतले हस्ताक्षर गरी चिठी दिनुपर्ने हो, दिइएको चिठी पनि पुरानो मितिमा दिइएको छ, जुन सरासर गलत हो, यो विषयमा मलाई पनि कुनै जानकारी छैन ।’
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महमद नवाज हुसैनले गाउँपालिका अध्यक्ष चौहानको निर्णयको बचाउ गरेका छन् । उनले राजनीतिक सहमती जुट्न नसकेपछि सन्तोषजनक कार्य नदेखिएका कर्मचारीलाई अध्यक्ष आफैले हटाएको प्रमुख प्रशासकिय अधिकृत हुसैनको प्रतिक्रिया छ । उनले भने, ‘२ महिनादेखि अध्यक्ष ज्यूले पटक पटक त्यस विषयमा छलफल गर्न खोज्नुभएको हो, निरन्तर छलफल चल्दा पनि सहमती नजुटेपछि पालिकालाई आर्थिक भार पर्ने देखिएर हटाउनु भएको हो ।’