वीरगञ्ज । नेपाल टेलिकमले फाइबर तार बिछ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको भन्दै वीरगञ्ज महानगरपालिकाले टेलिकमको परिसरमा फोहोर थुपारेर सांकेतिक विरोध गरेको छ । टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेको भन्दै महानगरले निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोधस्वरुप फोहोर खसालेको हो ।
महानगरपालिकाले वीरगञ्जमा सञ्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले ७ ट्रयाक्टर कचरासहितको फोहोर टेलिकमको परिसरभित्र लगेर फालेको हो ।
टेलिकमले अप्टिकल फाइबार बिछ्याउने क्रममा बाइपास सडकखण्डको करिब ५ किलोमिटर कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको छ । खनिएका सडक र फुटपाथ मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा कचरा सहितको फोहोर फाल्नु परेको महानगरप्रमुख राजेशमान सिंहले बताए ।
कार्यालयमै फोहोर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले विश्वाव व्यक्त गरे । गएको फागुन ३ गते प्रमुख जिल्ला अअधिकारीकै उपस्थितीमा बसेको सरोकारवाला निकायहरुको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको स्वकीय सचिव घिमिरेले जानकारी दिए । सहमति कार्यान्वयनका लागि महानगरपालिकाले गरेको पटकपटकको आग्रहलाई वेवास्ता गरेपछि बाध्य भएर सांकेतिक विरोधस्वरूप फोहर थुपारिएको उनले बताए ।
नेपाल टेलिकमले तार बिछ्याउन खनेर बनाएको सडकछेउको खाल्डो ।
फोहोरसहितको ट्रयाक्टर लिएर टेलिकम परिसरमा आफैं पुगेका घिमिरेले भने, ‘वीरगञ्ज शहरलाई सफा र सुन्दर बनाउन महानगरले अभियान नै चलाइरहेको छ, यो अवस्थामा टेलिकमले सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र पार्दा बाइपास सडक कुरुप भएको छ । त्यसलाई पहिलेकै अवस्थामा पुग्ने गरि मर्मत गरिदेउ भनेर कयौँ पटकको आग्रहलाई वेवास्ता गरेपछि हामी यो अप्रिय कदम चाल्न बाध्य भएका हौं ।’
उक्त सहमति पालना गराउनका लागि महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सालाइ पनि पत्र लखेर आग्रह गर्दासमेत टेलिकमले नटरेको घिमिरेको भनाई छ । घिमिरेले भने, ‘अब हामीले कति चोटी अनुरोध गर्ने ? हामीसँग अरु कुनै विकल्प नै भएन, नागरिकलाइ त महानगरपालिकाले नै काम गरेन भन्ने सन्देश गइरहेको छ, महानगर अब टुलुटुलु हेरेर बस्न सक्दैन, त्यसकारणले गर्दा आज फोहोर ल्याएर टेलिकममा फालिएको हो, अब मिडियाबाट यो विषय टेलिकमको केन्द्रीय कार्यालयमा पुग्नेछ र समस्याको सामधान हुनेछ भन्ने अपेक्षा लिएका छौँ ।’
टेलिकमले खनेर अलपत्र परेको सडक उसैले बनाउनु पर्नेमा बनाउन ढिला गर्दा नगरवासीले लामो समयदेखि समस्या भोग्दै आएका छन् । यो सडक खण्डमा नेपाल खानेपानी संस्थान र मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईनले समेत आफनो योजना कार्यान्वयनका क्रममा सडक खनेका छन् । खानेपानी र पेट्रोलियमले अपेक्षित काम गरे पनि टेलिकमले कामै नगरेपछि आजको कदम चालिएको घिमिरेले बताए ।
नेपाल टेलिकमले खनेर तार बिछ्याएपछि अलपत्र छोडिएको वीरगञ्ज बाइपास सडकखण्डको फुटपाथ ।
सांकेतिक विरोधस्वरूप टेलिकम कार्यालयमा फोहर लगेर थुपारेपछि महानगरवासीले मिस्रित प्रतिक्रिया दिएका छन् । केहीले सराहना गरेका छन् भने केहीले यसरी फोहर फालिँदा देशभर महानगर बारे गलत सन्देश जाने बताएका छन् । समाजिक सञ्जालमा युवा नेता रोहित बरनवालले लेखेका छन्, ‘ठाउँठाउँमा खाल्डो बनाएर छोड्नु गलत हो, यसले शहर कुरूप मात्र बनाएको छैन दुर्घटनाको जोखिमपनि बढेको छ । टेलिकम आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन । मेयरले ठिक गरेका छन् ।’ त्यस्तै कांग्रेसका नेताले महानगरको कदमको आलोचना गर्दै लेखेका छन्, ‘कुनै पनि बहानामा सेवा प्रदायक सार्वजनिक संस्थाको वातावरण बिगार्न पाइँदैन । बिधिको शासन मिच्न पाइँदैन ।’
टेलिकम प्रादेशीक निर्देशनालयका निर्देशक अनन्त प्रकाश मल्लिकले महानगरपालिकाबाट कानूनी राज्यको उपहास भएको बताए । नेपाल टेलिकम पनि राज्यको सम्पति भएको बताउँदै उनले भने, ‘फोहोर ल्याएर टेलिकम भित्र फाल्नुले कानूनी राज्यको उपहास भएको छ, यो अराजकता हो । यसबारे जिल्लाका सुरक्षा निकायका प्रमुखदेखि टेलिकमको केन्द्रिय कार्यालयसम्म म जानकारी गराउँछु ।’
वीरगञ्जस्थित नेपाल टेलिकम प्रादेशीक निर्देशनालयका निर्देशक अनन्त प्रकाश मल्लिक ।
उनले थपे, ‘फोहोर ल्याएर यहा फाल्नु समस्याको समाधान होइन । केहि त्रुटी छ भने हामीसँग महानगरले समन्वय गर्नुपर्थ्यो ।’ खनिएका सडक र फुटपाथ मर्मतको काममा केहि ढिलासुस्ति भएको स्वीकार्दै उनले भने, ‘हामीले प्रयास गरिरहेकै छौँ, दुइ किलोमिटर मध्ये डेढ किलोमिटरको काम सम्पन्न भइसकेको छ । अब पाँचसय मिटरको मात्रै बाँकी छ, त्यहाँ पनि काम हामी द्रुतगतिमा अगाडि बढाएका छौं । हामीले काम चटक्कै छाडेका पनि छैनौँ ।’ महानगरले कार्यालय परिसरमै फोहोर ल्याएर थुपारेपनि कार्यालयको सेवा भने सुचारु नै रहने र कर्मचारीबाट कुनै अवरोध नहुने पनि उनले प्रष्ट पारे ।
स्थलगत निरक्षण गर्दा मल्लिकले भनेजस्तो काम देखिएन । टेलिकमले गरेको सडक र फुटपाथ मर्मत गुणस्तरीय नभएको स्थानीयको गुनासो छ । ‘देखाउनका लागि जस्तो मात्र काम भएको छ । खनेर तार हालेपछि टेलिकमले बनाएको फुटपाथको काम गुणस्तरीय छैन, टालटुल मात्र गरेको छ,’ बाइपास रोडका एकजना व्यवसायीले भने ।