वीरगञ्ज l वीरगंज महानगरपालिकाले गुठी संस्थानको अतिक्रमित जग्गामध्ये शुक्रबार थप १५ विघाभन्दा बढी जग्गा छुट्याएर किलाखुटी गाडेको छ ।
गुठी संस्थानको जग्गा खोज्ने अभियान अन्तर्गत शुक्रबार तेस्रो दिन १५ बिघा ४ कट्ठा १० धुर जग्गा सीमांकन गरेर किलाखुटी गाडेको हो ।
महानगरसँगै जोडिएको पर्सागढी नगरपालिका–४ को भेडाहा टोल र सबैया टांडीमा उक्त जग्गा नापजाँच गरेर सीमाङ्कन गरिएको गुठी संस्थान कार्यालय, पर्साका प्रमुख चुडामणि घिमिरेले बताउनु भयो ।
बुधबारदेखि सुरु भएको अभियानको तेस्रो दिनसम्ममा ३६ विघा १० कट्ठा १० धुर जग्गा छुट्याएर किलाखुटी गाड्न सफल भएको उहाँले जानकारी दिनु भयो ।
शुक्रबार सीमांकन गरिएको जग्गामा करिब ६० परिवारले पक्कि तथा टहरा बनाएर बसोबास गरिरहेका छन् ।
जग्गा छुट्याउन जीपीएस, नक्सा तथा आवश्यक सामग्री सहित टोली फिल्डमा पुगेको थियो । संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि वीरगञ्ज महानगरपालिकाले प्राविधिक टिम र आवश्यक जनशक्ति खटाएर जग्गा छुट्याउने काम गरेको हो ।
जग्गा नापजाँच गर्न गुठी संस्थान पर्साका प्रमुख घिमिरेसहित महानगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष प्रदीप चौरसिया, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल प्रसाद, उमेस प्रसाद साह, नथुनी मण्डल, अनिल पंडित र सुरेन्द्र ठाकुरसहितको टोली खटिएको थियो ।