प्रमुख प्रतिपक्षी एमालेले संसदीय समितिमा रहने सदस्यको नाम संसद सचिवालयलाई बुझाएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बिहीबार प्रतिनिधिसभाका दशवटा विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम सचिवालयलाई बुझाएका हुन् ।
जसमा पूर्वाधार विकास समितिमा पर्साका निर्मला कोइराला (देवकोटा) र राजकुमार गुप्तालाई पठाइएको छ । यस्तै दयालबहादुर शाही, प्रेमबहादुर महर्जन , गोकर्ण विष्ट, ठाकुर गैरे, बसन्त नेम्वाङ र महेश बस्नेतलाई पनि पठाइएको हो ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रमुख प्रतिपक्षी एमालेबाट संसदीय समितिमा सदस्य रहने सांसदहरूको नाम प्राप्त भएको बताए । उनकाअनुसार सत्तारुढ कांग्रेस र माओवादीले शुक्रबार बिहान नाम बुझाउने प्रतिबद्धता जनाएका छन् । अन्य दलले यसअघि नै समितिमा नाम उपलब्ध गराइसकेका छन् ।
एमालेबाट नाम प्राप्त भएको र सत्तारुढ दलले बिहान नाम उपलब्ध गराउने भएपछि संसद सचिवालयले शुक्रबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा समिति गठनको विषय राखेको छ ।
उक्त कार्यसूचीमा ‘सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहनु हुने माननीय सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने,’ उल्लेख छ ।
११ वैशाखमा तीन दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार एमालेले प्रतिनिधिसभातर्फ लेखा र एउटा अन्य ९अर्थ० समितिको सभापति पाउने तय भएको छ । संयुक्ततर्फ राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति एमालेले पाउनेछ ।