वीरगञ्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सामाजिक सदभावले मात्रै राष्ट्रिय एकता बलियो हुने बताएका छन ।
अम्बिका ममता स्मृति प्रतिष्ठानले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले दुई ठूला जनसंख्या भएको देशकोबीचमा रहेको नेपालमा बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समुदायहरुको बसोबास रहेकोले एक अर्काप्रतिको सामाजिक सदभावले मात्रै राष्ट्रिय एकता मजबुद हुने बताएका हुन ।
प्रतिष्ठानले शिक्षाको क्षेत्रमा अतुलनीय योगदान गरेका चार ब्यक्तिलाई कार्यक्रममा सम्मान सहित पुरस्कृत गरेको थियो । कार्यक्रममा जीवबच्छ मिश्र, मूना बदन राजभण्डारी, रामनारायण कुर्मी र उर्मिला लामालाई नगद, सम्मापत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
व्यावसायिक केन्द्रको रुपमा विस्तार गरिएको सभ्यता, संस्कृति जीवनसँग जोडिएको वीरगन्जमा शिक्षामा योगदान गर्ने शिक्षकहरुलाई सम्मान गर्नु प्रशंसनीय रहेको बताए । उनले नेपालको संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा लेखिएपनि अहिले शिक्षा र स्वास्थ्य नागरिकको पहुँचमा पु¥याउने चुनौती देखिएको बताए ।
देशलाई आर्थिक विकास गर्नका लागि सामाजिक सदभाव आवश्यक रहेको औल्याउदै पूर्व उपप्रधानमंत्री समेत रहेका पोख्रेलले हिजो मधेशमा अनेक अनेक खालका विग्रह निम्त्याउने गतिविधि भए त्यसले नोक्सान धेरै भएको बताए ।
अमेरिकलाई आप्रवासीहरुको देश भनिए झौ नेपाल पनि अल्पसंख्यकहरुको देश रहेको उल्लेख गर्दै उनले संसारको सबैभन्दा ठूलो जनसंख्या भएको देश भारतसँगको खुला सीमाना र प्राकृतिक रुपमा हिमालको सीमा भएको दोश्रो ठूलो जनसंख्या भएको चीनको बीचमा रहेको नेपालमा सामाजिक सदभाव सहितको राष्ट्रिय एकताले मात्रै देशको अस्तित्व रहन सक्ने बताए ।
कुनै फौजी ताकतको बलमा बाँच्न नसकिने तर्क गर्दै उनले देशको अस्तित्व कायम राख्ने हो भने सामाजिक सदभाव कायम राख्नु पर्नेमा जोड दिए ।
हामी बच्नको लागि सुरक्षित हुनका लागि सामाजिक सदभाव हाम्रा लागि निर्णायक क्षमता भएको हो भन्दै एमालेका बरिष्ठ उपाध्यक्ष पोख्रेलले कहिलेकाही सामाजिक सदभाव खल्बल्याउने तत्वहरु सक्रिय भईराख्ने सिलसिला देखिने गरेकोले यस्ता तत्वहरुलाई परास्त गर्न सकिएमा मात्रै सामाजिक सदभाव कायम रही राष्ट्रिय एकता कायम रहने बताए । सबैजाति, भाषा, भेषभूषा, धर्म संस्कृति र पहिचानले नै हाम्रो भाग्य र भविष्यको फैसला गर्ने उल्लेख गरे ।
सम्मानित सबैलाई प्रमुख अतिथि इश्वर पोखरेलले सम्मान गरेका हुन । कार्यक्रममा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य सलोनी सिंह प्रधान, प्रतिनिधिसभा सदस्य प्रभु हजरा, वीरगन्ज महानगरपालिकाका प्रथम नगर प्रमुख विजय कुमार सरावगी, नेकप एमाले पर्साका संयोजक विश्वम्भर शर्मा लगायतको उपस्थिति रहेको थियो । मलिका चित्रकारको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अरविद सिंहले स्वागत पत्रकार के.सी लामिछानेले संचालन गरेका थिए ।