ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु यतिबेला काठमाडौंको सिंहदरबार चहार्दै छन् । ‘गाउँको सिंहदरबार’ का प्रमुख उनका दुइटा मुद्दा छन्, पहिलो–आफ्नो गाउँपालिकामा दरबन्दी राखेर काजमा अन्यत्र रहेका नौ जना कर्मचारी तुरुन्तै फिर्ता गराउनु ।
दोस्रो, रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत लिएरै फर्कने । यसका लागि उनले बिहीबार सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईलाई भेटेर लिखितै निवेदन दिए ।
आफू मात्रै जाँदा माग सम्बोधन होला/नहोला भन्ने आशंकासहित उनी प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईलाई समेत लिएर गएका थिए । आफ्नो मागका बारेमा जानकारी लिन शुक्रबार पनि दिनभरि उनी मन्त्रालयमै बसे । यसअघि पटक–पटक मन्त्रालयमा पत्राचार गर्दा सुनुवाइ नभएपछि भौतिक रूपमै उपस्थिति जनाउन संघीय राजधानीको सिंहदरबार आएको उनले टेलिफोनमा बताए । ‘यो तालले गाउँ–गाउँमा सिंहदरबार कसरी पुग्ला ?,’ अध्यक्ष पोमुले भने ।
यस्तै मुद्दा लिएर सिंहदरबार पुगेका मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की फर्किएको एक सातामात्रै भएको छ । आफू निर्वाचित भएको चार महिनादेखि नै निमित्तका भरमा गाउँपालिका चलाउनुपरेको भन्दै काठमाडौं पुगेका उनी आश्वासन मात्रै लिएर फर्किए । ‘मन्त्रालयमा मन्त्रीदेखि सचिव, सहसचिव, पार्टीका नेतासम्मलाई भेटेर फर्किएँ । खै, के हो प्रशासकीय र कर्मचारीचाहिँ भेटिएन,’ कार्कीले भने ।
‘गाउँमा सिंहमात्रै आयो दरबार आएन’ भन्ने व्यंग्यले अहिले उनलाई छुन थालेको छ । शिक्षक, स्वास्थ्यकर्मी जस्ता अन्य विधाकालाई वडा सचिव, गाउँपालिका शाखाको जिम्मेवारी दिएर चलाउनुपर्दा ठोस उपलब्धि प्राप्त गर्न कठिन भएको उनको बुझाइ छ । ‘निर्वाचित भएको वर्ष दिन हुन लाग्यो, स्वभावैले जनताले काम खोज्छन्,’ उनले भने, ‘कर्मचारी नहुँदा नियमित काममा चुनौती र अप्ठेरो हुने रहेछ । खै, माथिको सिंहदरबार हाम्रो कुरा सुन्दै सुन्दैन ।’
आठराई त्रिवेणीका अध्यक्ष पोमुका अनुसार छैंटौं तहका एक, पाँचौं तहका चार, चौथो तहका तीनसहितका नौ कर्मचारी काजमा छन् । ‘यहाँको दरबन्दी खाली गरेर सरुवा गरिदिए हामी करारमा नियुक्ति गर्थ्यौं,’ उनले थपे, ‘न कर्मचारी छन्, न नियुक्ति नै गर्न पाइन्छ यस्तो अन्याय पनि गर्न पाइन्छ ?’ सिंहदरबारसँग उनको गुनासो छ ।
आधारभूत तहको शिक्षक राखेर शिक्षा शाखा चलाउनुपरेको उनले सुनाए । शिक्षकलाई शाखा र वडा सचिवको जिम्मेवारी दिँदा बालबालिकाको पढाइमा असर परेको तर उपाय नभएको पोमु सुनाउँछन् । एक नगरपालिका र आठ गाउँपालिका गरी नौ स्थानीय तह रहेको ताप्लेजुङमा जिल्लामा अधिकांश प्रमुख प्रशासकीय अधिकृत निमित्तका भरमा छन् । सिदिङ्वा र मेरिङ्देन पनि निमित्तले चलाइरहेका छन् । फुङलिङ नगरपालिकामा इन्जिनियर, योजना शाखा प्रमुख नै छैनन् । जिल्लाको एक मात्र नगरपालिका सबइन्जिनियरले चलाएका छन् ।
मेरिङ्देन, मिक्वाखोलामा स्वास्थ्य शाखा हेर्नेले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । ‘२ सय ५० भन्दा बढी प्रशासकीय अधिृकत छैनन्, व्यवस्थापन गर्दा तपाईंहरूलाई प्राथमिकतामा राख्छौं भन्नुभएको छ,’ मिक्वाखोलाका अध्यक्ष कार्कीले भने । सिरिजंगाका तत्कालीन अध्यक्ष टीका गुरुङले सबैजसो स्वास्थ्यचौकी स्वास्थ्यकर्मीविहीन भएपछि ससर्तको बजेटबाट कर्मचारी राखेका थिए । अहिले पनि कतिपयमा त्यही अवस्था सिर्जना भएको र आफूहरूको समस्या सिंहदरबारले नबुझेको गुनासो स्थानीय तहको छ ।