एमाले अध्यक्ष केपी ओलीले पूर्वका विभिन्न जिल्लामा आफूमाथि भएको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता रहेको दाबी गरेका छन् । त्यसमा सत्तारूढ दलका कार्यकर्ता पनि मिसिएको, तर त्यस्ता उद्दण्ड र अराजनीतिक गतिविधिलाई नियन्त्रण गर्नुको सट्टा सरकार मूकदर्शक बसेको समेत उनको आरोप छ ।
केही दिनअघि पूर्वका जिल्ला जाँदा भएको आक्रमणबारे उनी पार्टीनिकट अखिल नेपाल किसान महासंघले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोलेका हुन् । ‘हामीले तेह्रथुम, पाँचथर, इलाम, झापा अनेक ठाउँमा कार्यक्रम गरेका थियौँ । तपाईंहरूले अलिअलि सुन्नु पनि भएको होला ।
कार्यक्रममा जाँदै गर्दाखेरी बीचमा केही गुन्डा प्रवृत्तिका व्यक्ति, अराजनीतिक व्यक्तिहरूले हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, त्यस्ता खालको क्रियाकलाप गर्ने, ढुंगामुढा गर्ने, त्यस्ता खालका कुराहरू गरे । यसको संलग्नता विभिन्नतिर देखिएको छ,’ उनले भने, ‘ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ । यो अनेकमार्फत देखिएको छ । यहाँभित्र उनीहरूले भित्रभित्र खेलाउने, जसलाई मैले ‘छौँडा’ भन्ने गरेको छु । यो पूर्वदरबारियाले छौँडा खेलाएर पनि अलिकति यस्तो खालको काम गरेका छन् ।’
उनले सत्तामा रहेका पार्टीका कार्यकर्ता नै अर्काको नाममा ढुंगा हान्न त्यहाँ गएको पनि आरोप लगाए । ‘अहिले सत्तामा हुने पार्टीका कार्यकर्ता अर्काको नाममा ढुंगा हान्न त्यहाँ गएका छन् । हाम्राविरुद्ध अश्लील, असभ्य, त्यस्ता खालका गाली–गलौज गर्ने कुराहरू यिनका मुखबाट भएको छ, त्यो म आफैँले देखेर, भोगेर आएको छु,’ उनले भने, ‘हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रूख ढालेर छेक्न खोज्ने, काहीँ ढुंगा हान्ने, काहीँ भिडन्त गर्न आउने । त्यसप्रकार उनीहरूले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उद्दण्डतामा सरकार मूकदर्शक ?’