वीरगंज । सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ का अवसरमा कम्प्यूटर एशोसिएशन नेपाल महासंघ, पर्साले बैंकिङ क्षेत्रमा यसको भुमिका सम्बन्धी अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंजको ग्लोबल बिजनेश कलेजमा आयोजित कार्यक्रममा स्रोत व्यक्तिका रुपमा कर्पोरेट डेभलपमेन्ट बैंकका प्राविधिक विशेषज्ञ अरविन्दकुमार चौरसियाले बैंकिङ्ग क्षेत्रमा सूचना, प्रविधिको महत्व र उपयोग दिनप्रतिदिन बढी रहेकोले यस क्षेत्रको अवसर, उपयोगिताका साथै चुनौती र अप्ठ्यारालाई समय सापेक्ष बुझ्ने गरी अघि बढ्न सकिएन भने सूचनाले सकारात्मक प्रभाव पार्नुका सट्टा नकारात्मक प्रभाव पर्न जाने बारे सहभागीहरुलाई सचेत समेत गराएका थिए ।
सूचना आजको युगमा आदान प्रदान गर्ने विषय मात्र नभएर एउटा शक्तिको रुपमा समेत रहेकोले सूचना प्रविधिका बहुआयामिक पक्षका बारे दफावार रुपमा सहभागीहरुलाई जानकारी गराइएको कम्प्यूटर एशोसिएशन नेपाल महासंघ, पर्साका अध्यक्ष प्रशान्त कुमारले बताउनुभयो ।
बदलिँदो वैश्वीक युगमा सूचना र प्रविधिको बढ्दो महत्व र उपादेयतालाई जनस्तरसम्म पु¥याउने अभिप्रायले कम्प्यूटर एशोसिएशन नेपाल महासंघ, पर्साद्वारा आयोजित अन्तर संवाद कार्यक्रममा बैंकिङ्ग क्षेत्रका कर्मचारीहरु तथा कलेजमा अध्ययनरत छात्रछात्रा, कलेजका प्रधानाध्यापक श्रीराम कुमार दास, प्रबन्ध निर्देशक ओमप्रकाश श्रेष्ठ, लेखा प्रमुख अशोक सर्राफ, क्यान पर्साका कार्यसमिति सदस्य राकेश साह लगायतको उपस्थिती रहेको थियो ।