वीरगन्ज l पर्साको पालिकाका जनप्रतिनिधीहरुको असहयोगका कारण पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न नसकिएको स्वास्थ्य कार्यालय पर्साका कर्मचारीहरुले गुनासो गरेका छन् ।
बिहीबार आयोजित जिल्ला खोप समन्वय समितिको बैठकमा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले केहि पालिका जनप्रतिनिधीहरुले चासो नलिएको र असहयोगपनि गरेका कारण पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न नसकिएको गुनासो गरेका हुन् ।
उनका अनुसार , पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ विक्रम संवत २०७४ सालदेखि नै अभियान सुरु गरिएको थियो । तर अहिलेसम्म जिल्लाका १४ पालिकामध्ये ९ वटामात्र पालिका पूर्ण खोपयुक्त पालिका घोषणा भएका छन् ।कालिकामाई, पटेर्वा सुगौली , पकाहामैनपुर , विन्दवासीनी र धोबिनी गाँउपालिका गरि ५ वटा पालिका भने अहिलेसम्म पनि पूर्ण खोपयुक्त पालिका घोषणा हुन नसकेकोले जिल्लालाई पनि घोषणा गर्न नसकिएको ठाकुरले बताए ।
जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकालाई विभिन्न सात प्रकारका खोप लगाएपछि मात्रै सम्बन्धित जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने सरकारी प्रावधान छ ।तर पर्सामा अहिलेपनि ५ वटा पालिका पुर्ण खोपयुक्त पालिका घोषणा हुन नसकेका कारण जिल्लालाई पनि पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न नसकिएको ठाकुरले बताए ।
जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले पालिकाका वडाध्यक्षदेखि पालिका प्रमुखसम्मलाई पटक पटक आग्रह र ताकेता गर्दै आएकोभएपनि उनिहरु यसप्रति गम्भिर नदेखिएको गुनासो उनले गरे ।ठाकुरले भने,‘ खोप समितिको बैठकमा बोलाउदाँ समेत कतिपय पालिका प्रमुखहरु आउनु हुन्न , व्यस्त छु , बाहिर छु भनेर टार्नु हुन्छ ।
ठाकुरका अनुसार , पूर्ण खोपयुक्त पालिका घोषण हुन बाँकी रहेका ५ पालिका मध्ये सबैभन्दा बढि दयनीय अवस्था पाकाहा मैनपुर गाँउपालिकाको रहेको छ । उक्त पालिकामा नियमित खोप लगाउन आवश्यक ८३ बालबालिका मध्ये अहिले सम्म एक जनापनि बालिकाले खोप नलिएको पाइएको ठाकुरले बताए ।
स्वास्थ्य कार्यालयले १४ वटै पालिकामा गरि १३२ खोपकेन्द्र सन्चालन गरेको जानकारी गराउँदै ठाकुरले भने,‘ हरेक वडामा महिला स्वास्थ्य स्वंयसेविका घरघमा पुुगेर खोप बारे जानकारी गराउनुहुन्छ , खोप निशुल्क पनि छ , तैपनि अभिभावकले बालबालिकालाई खोपकेन्द्रमा ल्याएर खोप लगाउदैनन् , यसमा जनप्रतिनिधीले चासोपनि देखाउदैनन् ।
चालु आर्थिक वर्ष २०७९/०८० भित्रै पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गराउने लक्ष्यका साथ अहिले काम भइरहेको जानकारी पनि उनले गराए । ठाकुरले भने,‘ यदि बाँकी रहेका पालिकाका जनप्रतिनिधीहरुले यो विषयलाई गम्भिरतका साथलिनुभयो भने अझै २ महिना बाँकी छ , हामी हाम्रो लक्ष्यमा पुग्न सक्छौ ।
त्यसका लागि अहिले जिल्लाभर नै खोप लगाउन छुटेका वा बञ्चित भएका लक्षित उमेरका बालबालिकाहरुलाई लक्षित गरि बृहत खोप अभियान पनि चलाइरहेको स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले बताए ।उनले भने,‘ यो अभियान अन्तर्गत हामीले घरघरमै पुगेर खोप लगाउन बालबालिका किन छुटेका छन् ? एकपटक खोप लगाएपछि अर्को पटक किन खोप लगाइरहेका छैनन् ? खोप लगाउँदाको फाइदा के के छ ? भन्ने बारेमा घरघरमै पुगेर अभिभावकलाई जानकारी गराइरहेका छौं ।छुटेका वा खोप नै लगाएका बालबालिकालाई खोप केन्द्रसम्म ल्याएर खोप पनि लगाइरहेको उनले बताए ।
बैठकको अध्यक्षता गरेका जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख अजय सर्राफले पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि सन्चालित अभियानलाई सफल पार्नमा पालिकाहरुमा देखिएको समस्या समाधान गर्न आफुले पहल गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘ जुन जुन पालिकामा समस्या छ त्यहा म आफै पुगेर जनप्रतिनिधीहरुलाई यो अभियानमा सरिक गराउँछु ।
बिहीबारको बैठकमा जिल्ला खोप समन्वय समितिले पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने अभियालाई सफल पार्न विभिन्न क्षेत्र र धर्म समुदायका गरि चार जनालाई खोप दूत घोषणा गरेको छ ।
समितिले सिख धर्मका अगुवा सरदार जसपाल सिंह , हिन्दु स्वंय सेवक संघका सदस्य माधव राजपाल , मुस्लिम धर्मका अगुवा हाजी ग्यासुदिन मियाँ र दलित महिला अगुवा नीला रामलाई खोप दूत घोषणा गरेको हो ।
बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख पुरण प्रसाद कुर्मी , जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख फत्ते बहादुर श्रेष्ठ, प्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठ , सन्चारकर्मी , स्वास्थ्यकर्मी लगायतको पनि सहभागिता थियो ।