वीरगञ्ज । पर्सा प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्रहरीले झन्डै पाँच लाख रुपैयाँ बराबर नक्कली नेपाली नोट र दुई लाख रुपैयाँको सक्कली नेपाली नोट बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले बुधबार दिउँसो उनीहरुलाई वीरगञ्ज-१६ स्थित चालिसफिट्टे सडकखण्डबाट सक्रिपियो गाडीसहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा सर्लाहीको गौडाता नगरपालिका वडा नम्बर १२ मधुवनी निवासी ३४ वर्षीय आनन्द वर्दन सिंह र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ निवासी ३६ वर्षीय ओमप्रकाश साह रहेका छन् ।
पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीकाअनुसार केही व्यक्ति नक्कली नेपाली नोटसहित भारतबाट नेपाल प्रवेश गरिरहेको विशेष सूचनाको आधारमा प्रहरी परिचालन गरिएको । सोही क्रममा भारत तर्फबाट वीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय नम्बर प्लेट भएको स्कर्पियो गाडीलाई रोकेर चेकजाँच गर्दा नक्कली र सक्कली नोट बरामद भयो ।
सिंह र साहको साथबाट प्रहरीले १००० रुपैयाँ दरको ४८६ थान गरी चार लाख ८६ हजार रुपैयाँको नक्कली नेपाली नोट र १००० रुपैयाँ दरकै २०० थान गरी दुई लाख रुपैयाँको सक्कली नेपाली नोट बरामद गरेको डिएसपी बुढाथोकीले जानकारी दिए ।
हालसम्म गरेको अनुसन्धानअनुसार नक्कली नोटहरु भारतमा उत्पादन भएर नेपाल भित्रिने गरेको डिएसपी बुढाथोकीले बताए । ‘पक्राउ परेकाहरुसँग सोधपुछका आधारमा नक्कली नोटहरु भारतमा उत्पादन भएर नेपाल भित्रिने गरेको हामीले पाएका छौँ,’ उनले यात्राडेलीलाई भने, ‘थपअनुसन्धान हुँदैछ, अझै धेरै कुरा खुल्न बाँकी छ ।’
नक्कली नोट ढुवानी गर्न प्रयोग भएको गाडी ।
नक्कलीलाई उनीहरुले सक्कलीसँग साट्न नेपाल लिएर आएको उनले बताए । ‘उनीहरुले नक्कली ३-४ लाखसम्म नक्कली नोटलाई साटेर १ लाख सक्कली लिने गरेका छन् । नेपालमा नक्कली नोट लिनेको पहिचान खुल्न सकेको छैन । यद्यपि केही व्यक्ति हाम्रो शंकाको घेरामा छन् । खोजतलास जारी छ, छिट्टै अरुलाई पनि नियन्त्रणमा लिने छौँ,’ डिएसपी बुढाथोकीले भने ।
पक्राउ परेकाहरुविरुद्ध मुद्रा सम्बन्धी कसुरमा (नक्कली मुद्रा प्रयोगमा ल्याउन नहुने) जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
पछिलो समय वीरगञ्ज बजारमा पनि नक्कली नोट देखिन थालेका छन् । प्रहरीले यसलाई नियन्त्रणमा लिने प्रयास गरेपनि बजारमा दिनहु नक्कली नोट भेट्ने गरेको स्थानीय बताउँछन् ।