काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको हाई प्रोफाइल ठगीमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । प्रहरी अधिकारीका अनुसार पाण्डेलाई पक्राउ गर्दा उहाँसँग भएको मोबाइल पनि नियन्त्रणमा लिइएको थियो ।
‘तर, उनले सबै डाटा हटाइसकेका रहेछन् । हामीले फरेन्सिकमा पठाएका छौं’, अनुसन्धानमा खटिएका एक अधिकारी बताउनुभयो । प्रहरीले दुई दिनअघि पाण्डेलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार यसअघि पक्राउ परेका केशव दुलाल र पाण्डेबीच निकट सम्बन्ध देखिएको छ । पाण्डे र दुलालबीच पारिवारिक सदस्यसरह कुराकानी भएको देखिन्छ । ‘पाण्डेले आफ्नो मोबाइल फर्म्याट गरे पनि दुलालबाट बरामद भएको मोबाइलबाट उनीसँग भएका सबै कुराकानी देखिन्छ ।
घटनामा पाण्डेको संलग्नता पुष्टि गर्ने धेरै तथ्यहरु त्यहाँ छन्’, ती अनुसन्धान अधिकारी बताउनुभयो ।दुलाल पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाका हुनुहुन्थ्यो । अनुसन्धान अधिकारीका अनुसार पाण्डे सचिव भएर गृह मन्त्रालयमा आएपछि गिरोहले उहाँलाई सम्पर्क सूत्रका रुपमा प्रयोग गरिएको थियो । यो प्रकरणमा हालसम्म आठ जना पक्राउ परेका छन् । तीमध्ये तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि छन् ।
प्रतिनिधिसभा सदस्य टोपबहादुरको खोजी भइरहेको छ । उहाँहरुविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।यसअघि पक्राउ परेका सानुराम भन्डारी, दुलाललगायतले आफूहरु बीचमा बसेर काम गरेको र माथिका मान्छेले पैसा लिएर काम नगरी धोका दिएको अनुसन्धानका क्रममा बताएको बुझिएको छ ।
‘यो घटनामा जो जो संलग्न छन्, उनीहरु सबै नतानिएको अवस्थामा अनुसन्धान अधिकारीलाई अप्ठेरो पर्न सक्ने अवस्था छ’, प्रहरी प्रधान कार्यालयको एक उच्च अधिकारीले बताउनुभयो । प्रहरीका अनुसार खोजीमा रहेका ईन्द्रजीतका छोरा एक महिनादेखि नेपालमा हुनुहुन्न । यो घटनामा जोडिएका तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक त्यसको केही दिनदेखि नेपालमा नरहेको अनुसन्धान अधिकारी दावी रहेको छ। प्रतीकले आफूले अनुसन्धानमा सहयोग गर्ने बताउनुभएको छ ।