काठमाडौं । नक्कली भूटानी शरणार्थी बनाएर रकम असुल्ने धन्दामा सहभागी भएको अभियोगमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले नेपाली कांग्रेसका नेता तथा तात्कालिन गृहमन्त्री बालकृष्ण खाण र उहाँकी पत्नी मञ्जु खाणको योजनाअनुसार आफूले सहयोग गरेको बयान दिनुभएको छ ।
प्रहरी हिरासतमा रहनुभएका उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव पाण्डेले तात्कालिन गृहमन्त्री खाण र पत्नी मञ्जुको योजनामा आफूले काम गरेको बयान प्रहरी समक्ष दिनुभएको हो ।
उहाँले मन्त्रीसँगको सल्लाहमा नै आफूले भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र जारी गरेको पनि बताउनु भएको छ । गृहमन्त्री खाणले नै आफू मन्त्री बनेपछि पाण्डेलाई गृहसचिवका रुपमा ल्याउनु भएको थियो ।
तात्कालिन गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल गृहमन्त्री रहेको समयमा उहाँका सल्लाहकार इन्द्रजीत राईले यो धन्दा अघि बढाए पनि परिपत्र जारी नहुँदै सरकार ढलेपछि आउनु भएका खाण र सचिव पाण्डेले नक्कली शरणार्थी बनाउने गिरोहको योजनाअनुसार परिपत्र जारी गर्नुभएको थियो ।
ठगी गिरोहका नाइकेहरुमा कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारी रहेका छन । गिरोहको सदस्यबाट पैसा पाइने निश्चित भएपछि तत्कालीन गृह सचिव पाण्डेले मन्त्रालयबाट हुने प्रमाणीकरणको काम आफूले मिलाइदिने तर बाँकीको व्यवस्थापन उनीहरुले गर्नुपर्ने बताएको तथ्यसमेत सार्वजनिक भएको छ ।
गिरोहका नाइके भण्डारीले पनि बयानमा ‘त्यसका लागि मन्त्रीसँग पनि कुरा गर्नुपर्छ र मन्त्रीलाई पनि पैसा दिनुपर्ने कुरा सचिवले भने । गृह सचिवले नै मन्त्रीसँग कुरा गरेपछि हामीले थप पैसा दिएका हौं’ भनेका छन ।
सचिव पाण्डेले गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेर यो गिरोहको बाँकी काम फत्ते गर्न अनुमतिसहित रकम बुझेको तथ्य पनि बाहिर आएको छ । प्रहरीले अहिलेसम्म संकलन गरेका तथ्यका आधारमा गृहमन्त्री खाणबाट स्वीकृत गराएर नै सचिव पाण्डेले शरणार्थी सम्बन्धी परिपत्र गरेको देखिएको छ ।
सचिव पाण्डे र गिरोहका नाइकेहरुको बयानमा खाँणको नाम आएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमै कुरा गर्नुभएको पाइएको छ । आफ्नो नाम पनि खुलेपछि खाँण बिहीबार सभापति देउवालाई धुम्बाराहीस्थित निवासमा भेटेर त्यहीबाट प्रधानमन्त्री दाहाल र प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई फोन गर्न लगाएको स्रोतले बतायो ।
यो प्रकरणमा प्रहरीले एमाले सचिव टोपबहादुर रायमाझीबिरुद्ध नाम आउनसाथ पक्राउ पुजी जारी गरे पनि सचिव स्वयंले तात्कालिन गृहमन्त्री खाण र उहाँकी पत्नी मञ्जुलाई किटानी बयान दिँदासमेत प्रहरीले केही गरेको छैन । एमाले सचिव रायमाझी पनि सम्पर्कबिहीन हुनुभएको छ ।