पकाहाँमैनपुर - भोट दिएर जिताएका जनप्रतिनिधिले पालिकामा विकास निर्माण मात्र होइन, शिक्षा, स्वास्थ्य र रोजगारी देलान् भन्ने आशमा बसेका पकाहाँमैनपुर गाउँपालिकाका स्थानीय बासिन्दाहरु पकाहाँमैनपुरका नेतृत्वप्रति निराश हुन थालेका छन् ।
पकाहाँमैनपुर गाउँपालिकाले समयमै बजेट ल्याउन सकेपनि विकास निर्माणको काम नहुदा त्यसको असर पालिकाबासीलाई हुने देखिएपछि स्थानीय बासिन्दाहरुले पकाहाँमैनपुर गाउँपालिका जनप्रतिनिधिलाई प्रश्न गर्न थालेका हुन् ।
पालिकामा जनप्रतिनिधि प्रमुख र वडाअध्यक्ष बीचको विवादकै कारण रकम र योजना बाँडफाँटमा मतभेद हुँदा विकास निर्माणको काम थप परेको स्थानीय उमेश यादवले बताए ।
योजना बाँडफाँटमा गाउँपालिका प्रमुख सुरेश मेहताले एकलौटी गर्न खोज्दा विवाद चुलिएकाले विकास निर्माणको काम हुन नसकेको स्थानीयहरुको तर्क छ । निर्वाचित भएको १० महिना बित्न लाग्दा पनि कुनै विकास निर्माणको काम भएको छैन । कार्यपालिका सदस्यको उपस्थिति देखाएर नीति तथा कार्यक्रम बहुमतले नै प्रस्तुत भयो तर विकाश शुन्य रह्यो ।
गाउँपालिका प्रमुख सुरेश मेहताको निती पारदर्शीता नभएको भन्दै वडाअध्यक्षहरुले सभामा सहभागिता नजनाउने अडान लिएका थिए । अध्यक्ष मेहताले आयव्यय पारदर्शी नगरी भ्रष्टाचार गरेको वडाअध्यक्षहरुको आरोप छ ।
बजेटमा योजना बाँडफाँट, गत आर्थिक वर्षको योजनामा कमिसन लेनदेन र व्यक्तिगत स्वार्थ पूरा नहुँदा स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्ष विभाजित भएको स्थानीय प्रमोद पटेल बताउँछन् । ‘जनप्रतिनिधिको विवादका कारण विकास निर्माण ठप्प हुँदा जनता निराश छन, पटेलले भने ।