वीरगंज । पर्साको पश्चिमी ग्रामीण भेगबाट प्रहरीकै संरक्षणमा खुलेआम राँगा भैँसीको तस्करी भइरहेको पाइएको छ । भारतको बिहारसँग जोडिएको मधेश प्रदेशस्थित पर्साको पश्चिमी ग्रमिण भेगमा पर्ने प्रसौनी भठ्ठाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीकै संरक्षणमा खुलेआम तस्करी भइरहेको छ ।
सीमानाकाबाट हुने चोरी तस्करी जस्ता आपराधिक गतिविधि कुनै नौलो विषय होइन । यही तस्करी लगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल सरकारले सीमानाकासहित ठाउँठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेको छ । तर पर्साको सहरी क्षेत्रको नाकाबाट केही हदसम्म तस्करी नियन्त्रण गर्न कडाई भए पनि प्रसौनीसंग जोडिएको भारतको भेलाहि , मुशहरवा लगायतको ठाउँबाट प्रहरीकै संरक्षणमा सयौँ राँगा भैँसीको तस्करी भइरहेको पाइएको छ ।
रात मै मात्र सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमो सो नाकाबाट १०० देखि २०० सम्म राँगा भैँसी भित्रिएको स्थानीयहरूले बताएका छन् । नेपाल प्रसौनी कै तीन जना नामुद भैँसी तस्करहरुले सशस्त्र प्रहरी र नेपाल प्रहरीको स्थानीय, जिल्ला र प्रदेशसमेतको प्रहरी प्रमुखलाई मिलाई मासिक हजारौँ राँगा भैँसीको तस्करी गर्ने गरेको स्थानीयहरूको आरोप छ । तस्करहरुले जिल्ला प्रहरी कार्यालय पर्सामा आएका नेपाल प्रहरीका एसपी कोमल शाह, सशस्त्र प्रहरी बल पर्साका डिएसपी सन्तोष बस्नेत र सशस्त्र प्रहरी मधेश प्रदेशका डिआईजी गणेश ठाडा मगरको मिलेमतोमा राँगा भैँसीको तस्करी गराउने गरेको स्थानीयहरू बताउँछन् ।
तस्करहरुले भारतको भेलाही मुसहरवासंग जोडिएको प्रसौनीको नाकाबाट तस्करी मार्फत राँगा भैँसी भित्रियाई रात को मौका छोपी जीतपुरस्थित रहेको पशु हाट बजरमा ल्याई बिक्री वितरण गर्ने गरेका छन् । भारतबाट नै तस्करीको माध्यमबाट राजश्व छली गरी आउने राँगा भैँसी जीतपुर बजारमा बिक्री वितरण हुने गरेको स्थानीयहरू बताउँछन् ।
स्रोतका अनुसार हप्ताको दुई दिन लाग्ने पशुहाट बजारमा तस्करहरूले मध्यरातीदेखी बिहानसम्म प्रहरीकै सहयोगमा सो पशुहाट बजारसम्म पुर्याउने गर्छन् । प्रसौनी ल्याई केही स्थानिय व्यक्तिलाई जानकारी नगराई उनीहरूकै नामबाट गाउँपालिकाको सिफारिसमा नेपालकै किसानबाट खरिद गरेको कागजात बनाई जीतपुर लगायतको ठाउँमा पठाउने गर्छन ।
तस्करहरुसंग सेटिङ्ग नमिल्दा पर्सा प्रहरी लगायतका टोलीले पनि बेला बेलामा भैँसीहरु नियन्त्रणमा लिन गरेकै हो ।
सेटिङ्ग मिल्ने बित्तिकै तस्करी खुल्ने गरेको पाइन्छ । पशु क्वारेनटाईन वीरगंजका कर्मचारी भन्छन भैँसी तस्करी बारे धेरै पहिला नै पटक पटक जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बललाई जिल्ला प्रशासन कार्यालय पर्साकै रोहबरमा जानकारी गराएको बताउँछन् । भारतबाट भैँसी आयात गर्दा सोही ठाउँमा भएको भैँसीको क्वारेनटाईन अर्थात् स्वास्थ्य परीक्षणको कागजात हेरी निरोगी प्रमाणित भए मात्रै नेपाली क्वारेनटाईन गरिने कानुनी व्यवस्था रहेको बताउँछन् ।
तर क्वारेन्टाईन गराउँदा अनिवार्य भन्सार तिर्नु पर्ने भएकाले भैँसी तस्करहरूले प्रहरीलाई मिलाई तस्करीको माध्यमबाट राँगा भैँसी नेपाल भित्रियाई प्राईभेट पशु चिकित्सकमार्फत नक्कली क्वारेनटाईन गराई उक्त भैँसीहरु खरिद बिक्री गर्ने गरेको पाइन्छ । प्रसौनी लगायतको ठाउँबाट तस्करी गरी पोखरा काठमाडौँको लागि बिक्री वितरण हुने प्रायः राँगाभैँसी भारतबाट अवैध तरिकाले प्रहरीकै मिलेमतोमा ल्याइने गरेको भैँसी ल्याउने मजदुरहरू बताउँछन् । सशस्त्र प्रहरी बल मधेश प्रदेशका डिआईजी गणेश ठाडा मगर, जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कोमल शाहले तस्करी नियन्त्रण रहेको दाबी गर्दै त्यस्तो पाए सम्बन्धित प्रहरीलाई कारबाही गर्ने बताउँछन् । खुल्ला सिमानाकाको मौका छोपी छिटफुट लुकाई छिपाई आएकोले त्यसलाई तस्करी नभनौ छिटफुट आउनेलाई पनि प्रहरीले समाती भन्सार बुझाउने गरेको प्रहरी उपरीक्षक साहले बताए ।
तर व्यवहारमा भने प्रहरी संगठनकै कर्मचारीबाट तस्करी वापतको हिस्सा लिई भैँसी तस्करी गर्न छुट दिएको देखिन्छ ।