वीरगञ्ज । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भारत पुगेका छन् । उनी गत शुक्रबार नेपालबाट स्थलमार्ग हुँदै भारत पुगेका हुन् । उनी निजी भ्रमणमा शुक्रबार बिहान लखनउ गएका हुन् ।
अघिल्लो हप्ता पश्चिम नेपालमा नागरिक अभिनन्दन ग्रहण गरेका पूर्वराजा शाहले लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।
शाहको मुख्यमन्त्री आदित्यनाथसँग राजपरिवारका सदस्यसहित सौहार्दपूर्ण भेटवार्ता भएको उनका संबाद सचिव फणिराज पाठकले जानकारी दिए ।
विगत केही दिनदेखि नेपालगञ्जमा रहेका पूर्वराजालाई गत बुधबार नेपालगञ्जमा नागरिक अभिनन्दन गरिएको थियो । सो क्रममा पूर्वराजाले अहिलेको व्यवस्था नेता केन्द्रित भएको भन्दै पुरानै गौरव फर्काउन आह्वानसमेत गरेका थिए । त्यसको दुई दिनपछि पूर्व राजाको लखनउ भ्रमणलाई अर्थपूर्ण रुपमा होरिएको छ ।
स्रोतकाअनुसार पूर्वराजा शाह आफ्ना सुरक्षाकर्मी र सहयोगी विनै लखनउ पुगेका हुन् । उनलाई उत्तर प्रदेश सरकारले सुरक्षा उपलब्ध गराउने र त्यहाँ रहँदा पूर्व राजाले विभिन्न धार्मिकस्थलको दर्शन गर्ने औपचारिक कार्यक्रम रहेको छ ।
योगी आदित्यनाथले विगतमा पनि उत्तर प्रदेशका विभिन्न धार्मिक कार्यक्रमहरुमा पूर्वराजालाई नेपालको राजाकै हैसियतमा निमन्त्रणा दिने गरेका छन् । त्यहाँ जाँदा पूर्वराजालाई नेपाल नरेशकै हैसियतमा मञ्च र आसन उपलब्ध गराइन्छ ।
स्रोतकाअनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पूर्वराजालाई भेट गराउन एक घण्टाको समय मिलाउने प्रयास गरिरहेका छन् ।
यसअघि पूर्वराजा शाह फागुन २२ गते सोमबार स्थलमार्ग हुँदै भारत भएका थिए ।
नेपालका राजनीतिक दलहरु सत्ताको आपसी खिचातानीमा लिप्त भएको मौकामा पूर्वराजा ज्ञानेन्द्रले छिमेकी मुलुक भारतको साथ खोज्ने प्रयास विगत लामो समयदेखि गर्दै आएका थिए । यसअघि पनि उनी विभिन्न वाहनामा भारतको भ्रमणमा गएका थिए ।
पछिल्ला दिनहरुमा नागरिक बचाऊ अभियानमा भारतको राष्टिय स्वयं सेवक संघ (आरएसएस)को विशेष सहयोग रहँदै आएको बताइएको छ जसको उद्घाटन झापाबाट पूर्वराजा ज्ञानेन्द्रले नै गरेका थिए ।
यो अभियानको नेतृत्व दुर्गा प्रसाईंले गर्दै आएका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्रबाट जारी भएको विज्ञप्तिमा राजनीतिक दलहरुले राजसंस्थासँग सहकार्य गर्नु पर्ने धारणा अघि सारेका थिए ।
विगत केही समयदेखि पूर्वराजाका विज्ञप्तिहरु राजनीतिकरुपले खरो बन्दै आएका छन् । यो परिस्थितिमा पूर्वराजाको सुटुक्क भारत भ्रमणलाई निकै अर्थपूर्ण मानिएको छ ।
नेपालको केन्द्रीय सत्तामा एकपछि अर्को अस्थिरताका घटना हुनु, यी सबै अस्थिरतामा भारतकै भित्री हात हुनु, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र अन्य गठबन्धनका नेताहरु भारतीय इशारामा सत्ताको गठजोडमा संलग्न हुनु र फेरि पनि थप अस्थिरताकै संकेतहरु देखिनुले पूर्वराजालाई भारतसँग सहकार्य गरेर पुन गद्दीमा फर्किन सकिन्छ कि भन्ने हिम्मत पलाएको हुनसक्ने बताइएको छ ।