वीरगञ्ज । नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले प्रहरी संगठनभित्र हुने राजनीतिक हस्तक्षेप र मोलमोलाइको पीडित आफू पनि भएको बताउँदै ७ वर्षपछि एउटा ‘खुलासा’ गरेका छन् ।
काभ्रेका विष्टले सामाजिक सञ्जाल फेसबूकमा एक सन्देश लेख्दै आफ्नो प्रहरी सेवाकालको घटना स्मरण गराएका छन् । उनले आफू प्रहरी सेवामा रहँदा २ वटा राजनीतिक आक्रमण भएको विषय सार्वजनिक गेका छन् । पहिलो आक्रमण २०४७ सालमा भएको उनको दाबी छ ।
२०४७ मा सप्तरीबाट २४ घन्टामा दार्चुला सरूवा गरिएको उनले बताएका छन् । सोझा गाउँलेलाई डाँका मुद्दा लगाएर फसाउन नमान्दा त्यतिबेला आफ्नो दार्चुला सरुवा भएको विष्टको भनाइ छ ।
‘सरुवाको कारण निमुखा गाउँलेहरुलाई फसाउन रचिएको झुटा डाँका मुद्दा दर्ता गर्न नमानेको । सरुवा गराउने नेपाली कांग्रेस सप्तरीका नेता रामकुमार चौधरी जो गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र हुन्,’ विष्टले लेखेका छन् ।
त्यसपछि २०७३ सालमा आफूमाथि आक्रमण भएको उनको भनाइ छ । २०७३ मा एसएसपीबाट डीआईजी बढुवा हुनेबेला ज्येष्ठताका आधारमा आफू पहिलो नम्बरमा रहेको विष्टको दाबी छ । तर, तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई पैसा बुझाउन नमान्दा आफू बढुवाबाट बञ्चित भएको विष्टले उल्लेख गरेका छन् ।
‘कार्यसम्पादनमा समेत अव्बल हुँदाहुँदै पनि नोटको बिटोसहित विमलेन्द्र निधिमार्फत बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट वञ्चित भइ अवधि नै नपुगी प्रहरी सेवाबाट हट्नु परेको थियो । जस होस् नेपाली कांग्रेसको,’ विष्टले भनेका छन् ।
विष्टको बढुवा हुनेबेला २०७३ पुस १ गते तीन डीआईजीको पद रिक्त थियो । त्यतिबेला गणेश केसी, रमेश भट्टराई र केदारमान सिंह भण्डारीलाई बढुवाका लागि सिफारिस गरिएको थियो ।
बढुवामा छुटेपछि विष्ट २०७३ पुस १५ गते एसएसपीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा गएका थिए । त्यतिबेला विष्टसँगै अर्का एसएसपी बलराम शर्मा पौडेल पनि अनिवार्य अवकाशमा गएका थिए ।