वीरगन्ज – वीरगन्जको यातायात व्यवस्था कार्यालयले गत माघ महिनामा लिएको हेभी सवारीको प्रयोगात्मक परिक्षा(ट्रायल) को घुस रकममा ‘उचित’ भागबन्डा नपाएको भन्दै कर्मचारी बीच नै मनमुटाव उत्पन्न भएको छ । जसले गर्दा चैत महिनादेखि लाइसेन्सको लिखित र ट्रायलमा फेल भएकाहरु पास हुन सकेका छैनन् ।
गत माघ १३ गते १ हजार १५९ जना परिक्षार्थीले लिखित परिक्षा दिदा ७५ प्रतिशत पास भएका थिए । यसैगरि माघ २५ गते १ हजार ३१ जनाले लिखित दिंदा ७७ प्रतिशत पास भएका थिए । तर, चैत १९ मा १ हजार ५३ जनाले लिखित परिक्षा दिंदा जम्मा २ सय ५३ जना मात्र पास भएका थिए । अर्थात २४ प्रतिशत परिक्षार्थीले मात्र लिखित परिक्षा उत्तीर्ण गरेका थिए ।
चैत १९ यता ५ पटक लिखित परिक्षा भएका छन् । जसमा पास हुनेको संख्या २० प्रतिशत भन्दा माथि कटेको छैन् । लिखित मै अधिकांश फेल भएपछि ट्रायलमा ५ प्रतिशत मात्र पास हुने गरेका यातायातको विवरणले देखाएको छ । कर्मचारी बीच सेटिङ नमिलेर फेल भएकाहरु पास नहुने भएपछि परिक्षामा सहभागीको संख्या पनि ह्वात्तै घटेको छ ।
यही वैसाख २५ मा यातायात कार्यालयले लिएको लिखित परिक्षामा जम्मा ३७४ जना सहभागी भएका थिए । जसमा ११० जना पास भएका थिए । भोलिपल्ट भएको ट्रायलमा जम्मा १९ जना पास भएका थिए । निश्चित पैसा दिएर फेल हुंदा पनि पास हुने कन्र्फम हुंदा वीरगन्ज यातायातमा लाइसेन्स बनाउनेहरुको चहलपहल बाक्लै हुने गरेको थियो ।
तर, पछिल्लो समय कर्मचारीबीचको भागबन्डा नमिल्दा सेटिङ बिग्रिएको छ, फेल हुंदा पास नहुने भएपछि वीरगन्ज लाइसेन्स बनाउन आउनेहरुको संख्या घटेको एक कर्मचारीले बताए । सम्वद्ध स्रोतका अनुसार गत वर्ष माघ महिनामा भएको हेभी मेसिनको ट्रायलबाट संकलन भएको घुस रकम उचित तरिकाले भागबन्डा नहुदा कर्मचारीबीच मनमुटाव भएको हो ।
डोजर, लोडर, स्काभेटरको ट्रायलमा फेल भएका एकजनालाई मात्र पनि पास गराउदा ३५ हजार देखि ५० हजार रुपैया असुली हुने गरेको छ । स्रोतका अनुसार त्यसबेला करिब १२ सय जनाले हेभी मेसिनको ट्रायल दिएका थिए । ‘आफैले पास गर्नेको संख्या १५ प्रतिशत भन्दा बढी थिएन्,’ नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारी भन्छन्, ‘तर, हेभीको ट्रायलमा करिब ६७ प्रतिशत रिजल्ट आएको छ ।’
त्यसबाट संकलन भएको घुस रकमको भागबन्डा उचित तरिकाले नगरिएकाले कर्मचारीबीचको सेटिङ नमिलेको हो । यातायात स्रोतका अनुसार चैत १९ मा लिखित परिक्षाको कापी चेक हुंदा लाइसेन्सका मेकानिकल इन्जिनीयर अमित दासले फेललाई पास नगराउन चेतावनी दिएका थिए । फेललाई पेस गराए आफूले नमान्ने अडान लिएपछि जम्मा २४ प्रतिशत मात्र पास भएका थिए ।
त्यस यता कर्मचारीबीच अझै मिलापत्र नभएको एक बिचौलियाले सुनाए । इन्जिनियर अमित दास, नायब सुब्बा सुनील पण्डित, रञ्जीत साह लगायतको कर्मचारी समूहले घूस रकम उचित तरिकाले भागबन्डा नगरिएको भन्दै अघोषित आन्दोलनमा रहेको बुझिएको छ ।