काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीको समेत संलग्नता रहेको तथ्य खुलेको छ ।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा सांसद डा. आरजु राणा देउवा र पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र पत्नी मञ्जुसँगै लुम्बिनीका मुख्यमन्त्री चौधरीसमेत ‘भुटानी शरणार्थी प्रकरण’मा मुछिनु भएको हो ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्यमन्त्री चौधरीसमेत संलग्न भएको अभियुक्तले बयान दिएका छन । ती अधिकारीका अनुसार ठगी गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले शरणार्थी प्रकरणमा मुख्यमन्त्री चौधरीको नाम पोलेका हुन । गिरोहका एक सदस्य सन्देश शर्मा दाङकै हुन ।
प्रहरी हिरासतमा रहेका अभियुक्त शर्माले बयानका क्रममा ‘कांग्रेस नेता बुद्धिराम भण्डारीको साला गजेन्द्र बुढाथोकी र लुम्बिनीका मुख्यमन्त्री चौधरीको सहयोग लिएर हाल हिरासतमा रहेका तत्कालीन गृहसचिव टेकनाराण पाण्डेलाई पटकपटक भेट गरेको जनाएका छन । बयानमा शर्माले भनेका छन, ‘टेकनारायण पाण्डेलाई काठमाडौँ आएको बेला दुईपटक भेटेको हुँ, केही व्यक्तिहरूले मेरो नाम जोडेर प्रहरीमा उजुरी गरेपछि म त्यहाँ गएको थिएँ,’ शर्माले बयानमा भनेका छन ।
सन्देशले मुख्यमन्त्री चौधरी र गजेन्द्र बुढाथोकीसँग कुराकानी भएपछि नै गृहसचिव पाण्डेको नाम लिएको किटानी गरेका छन । शर्माले बयानमा भनेका छन, ‘दाङका केटाहरूलाई अमेरिका पठाउने विषयमा गजेन्द्र दाइ र डिल्ली दाइ (मुख्यमन्त्री)सँग कुराकानी हुँदैजाँदा निज पाण्डेको नाम भने सुनिरहेको थिएँ ।’
शर्माका अनुसार तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण र गिरोहका नाइके केशव दुलालसँग फरार सूचीमा रहेका गजेन्द्र बुढाथोकीको भेट मुख्यमन्त्री चौधरीले नै गराएको तथ्यसमेत खुलेको प्रहरी स्रोतले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको प्रमाणका आधारमा प्रहरीले पूर्वगृहमन्त्री खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र सन्देश शर्मासहित तात्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतिक थापा, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरिसकेको छ ।
रायमाझी भने फरार भएका छन । गिरोहका सदस्य शर्माले बयानमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस नेत्री आरजु राणा देउवा र तत्कालीन सचिव टेकनारायण पाण्डेलाई कैयौँपटक गृह मन्त्रालयमै भेटेको र निरन्तर फोन सम्पर्कमा रहेको बताएका छन ।