काठमाडौं । नेपाल मेडिकल कलेजमा अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । कलेजको नर्सिङ विभागले आयोजना गरेको कार्यक्रममा फ्लोरेन्स नाइटिङ्गेललाई सम्झँदै उनकाे मार्गदर्शनमा लाग्नुपर्नेमा जोड दिइयो ।
कार्यक्रममा बोल्दै नेपाल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले नर्सहरुको उत्कृष्ट कार्यले स्वास्थ्य संस्थाहरु चलायमान हुने बताए । डाक्टरले बिरामीको रोग पहिल्याए पनि उपचार गर्दा नर्सहरुले समुचित स्याहारसुसार गरेर नै बिरामीहरु समयमै निको हुने बताउँदै अन्सारीले अस्पतालको गरिमा बचाउने काम नर्सहरुबाट हुने जिकीर गरे ।
‘बिरामीको उपचारमा तपाई नर्सहरुको महत्वपूर्ण भूमिका हुन्छ । यहाँहरुको सीप र कामबाट नै अस्पतालले उचाई प्राप्त गर्ने हो ।’ कलेज नर्स तथा अन्य कर्मचारीहरुको कामबाट सन्तुष्ट रहेको जनाउँदै धन्यवाद दिए ।
कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा. भोला रिजालले आफ्नो उमेर जत्तिकै नेपालमा नर्सिङ सेवा भएको बताउँदै नर्सिङ पेशा विगतका दिनहरुमा भन्दा अहिले मर्यादित र सम्मानीत भएको बताए । यद्यपि, पछिल्लो समय सरकारले पिसिएल नर्सिङ खारेज गरेर नर्सिङ सेवामा ठूलो जनशक्ति अभावको अवस्था सृजना जिकीर गरे ।
‘अहिले मुलुकलाई तत्कालै २० हजार बढी नर्सको आवश्यक छ । तर, सरकारले पिसिएल नर्सिङ, अनमी जस्ता विषयका कलेजहरु खारेज गरेर ठूलो समस्या पैदा भयाे । भोलीका दिनमा यी जनशक्ति अभाव हुँदा मुलुकले कस्ता समस्या आउला सोचिएन ।’ ६० हजार नर्स तयार गर्न अहिलेदेखि नै राज्यले नीति नबनाउने हो भने नर्सिङ अभावले ठूलै समस्या निम्त्याउने डा. रिजालकाे भनाइ छ ।
कार्यक्रममा १५ वर्षदेखि माथि, २० वर्षभन्दा बढी नर्सिङ सेवामा समर्पित नर्सहरुलाई कलेजका प्रबन्ध निर्देशक अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोद कुमार क्षेत्री, असपताल निर्देशक डा. राजेश किशोर श्रेष्ठ, डाइरेक्टर जहाँगिर अन्सारी, अस्पताल इन्चार्ज दिलिप साह, प्रमुख प्रशासकीय अधिकृत ज्याेती खड्का लगायतले सम्मान गरेका थिए ।
सो अवसरमा कलेजमा कार्यरत नर्सहरुले सांगितिक प्रस्तुति पनि दिएका थिए । सन् १८५४ मा बेलायत, फ्रान्स र टर्कीले रुसविरुद्धको युद्धमा घाइतेहरुको उपचारमा कोही नहुँदा देश र जनताका लागि ज्यान दाउमा राखेर युद्ध लड्ने सैनिकहरुको उपचार र स्याहारमा फ्लोरेन्स नाइटिङ्गेल अगाडी सरेर मानवीय कर्म गरेको स्मरण गर्दै कलेजले हरेक वर्ष विश्व नर्सिङ दिवसको अवसरमा कार्यक्रम गर्ने गरेको छ ।
नर्सहरूको अन्तर्राष्ट्रिय परिषद्ले फ्लोरेन्स नाइटिंगेलको जन्मदिन मे १२ लाई अन्तर्राष्ट्रिय नर्स दिवसको रूपमा मनाउँदै आएको छ । नाइटिंगेलको जन्म १२ मे १८२० मा भएको थियो ।