काठमाडौँ — नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय गर्न माग गरेको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी धन्दा बाहिरिएको भन्दै त्यस्तो कार्यमा संलग्न जोकोही भए पनि राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय गर्न माग गरेको हो ।
एमालेले दोषी कोही नछुटून् र निर्दोष कोही नफसून् भन्ने कुरातर्फ सरकारको ध्यान जानुपर्ने बताएको छ ।
'सोच्न पनि नसकिने यस्तो काममा एकातिर गृह मन्त्रालयकै उच्च नेतृत्व संलग्न रहनुले राज्यविरुद्धको अपराध कति संगठित रूपमा अघि बढाइएको रहेछ भन्ने देखिन्छ भने अर्कातिर यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको छ,' एमालेले भनेको छ, 'यो बैठक उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्षरूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ ।'
एमालेले हिरासतमा राखिएका व्यक्तिहरूलाई छानबिनको दायरामा आउन सक्ने व्यक्तिसँग अवैधरूपमा भेटघाट गराउने, पैसा 'दिएर मुद्दा मिलाउने प्रयास गर्ने, असम्बद्ध व्यक्तिहरूको नाम लिन र आफू अनुकूलको बयान गराउन दबाब दिइएको जस्ता सूचना सार्वजनिक भएको भन्दै प्रश्न गरेको छ ।
राज्यका वैधानिक निकायबाट गरिने यस्ता विषयको निष्पक्ष अनुसन्धानमा सहयोग हुने समेत एमालेले जनाएको छ । एमालेले भ्रष्टाचार नेपाली समाजमा संक्रामक रोगका रुपमा रहँदै आएको भन्दै यस्ता घटनाहरुको निष्पक्ष छानबिन र दोषीहरुलाई कानुनको दायरामा नल्याउँदा यसले लोकतान्त्रिक प्रणाली राजनीतिक नेतृत्व र पार्टीहरुमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको समेत जनाएको छ । तर एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका केन्द्रीय सचिव टोपबहादुर रायमाझीका सन्दर्भमा भने केही पनि उल्लेख गरेको छैन ।
एमालेले लडाकु शिविर घोटाला कान्डको समेत छानबिन गर्न माग गरेको छ।