वीरगन्ज — एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली शरणार्थी बनाएर भ्रष्टाचार प्रकरणमा जोडिनेलाई राष्ट्रद्रोहीको संज्ञा दिएका छन् । समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार बिहान वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अन्तिम परिणामसम्म खुट्टा कमाउन नहुने बताए ।
‘आफ्नो देशको नागरिकको पहिचान बदलेर विदेश पठाएर पैसा कमाएर देशको मान, सम्मान र मर्यादामा आँच पुर्याउने, राजनीतिलाई ठगी खाने पेसाको रुपमा अगाडि सार्ने जस्तो काम भएको छ,’ अध्यक्ष नेपालले भने, ‘त्यस्तो काम गर्ने राजनीतिबाट होस्, प्रशासनबाट होस्, समाजको कोही पनि व्यक्तिबाट होस् त्यस्तो कुकृत्य गर्नेलाई साथ दिनुहुँदैन । संरक्षण गर्नु हुँदैन, दण्डित गर्नुपर्छ ।’ यस प्रकरणमा वर्तमान सरकारले जुन काम गरेको छ, यो कदमको सरहाना गर्दछु । अध्यक्ष नेपालले अन्तिम परिणामसम्म यो सरकारले खुट्टा कमाउन नहुने बताए ।
‘भुटानी शरणार्थी मात्र हैन, कुनै पनि भ्रष्टचारजन्य क्रियाकलापमा संलग्नलाई दण्ड सजाय दिनुपर्छ,’ उनले भने, ‘दोषी कोही पनि नउम्किउन भन्ने उद्देश्यले यो सरकारले काम अगाडि बढाउनुपर्छ । प्रशासन, प्रहरी र गृहमन्त्रीले आँट गर्नुपर्छ । यसमा जनता र हाम्रो पार्टीको साथ र समन्वय रहन्छ । हामी भ्रष्टाचार विरोधी अभियानको साथमा छौं ।’
देशको हरेक क्षेत्रमा भ्रष्टचार बढेकोमा पूर्वप्रधानमन्त्री समेत रहेको नेपालले चिन्तता प्रकट गरेका थिए । ‘यतिले मात्र पुग्दैन, देशलाई अगाडि बढाउनु छ भने हामी सबैले आत्मसमीक्षा गर्नुपर्छ,’ उनले भने, ‘यो देश किन पछाडि परेको छ । किन हाम्रो देशमा विभिन्न प्रकारका बेतिथिहरु विधमान छन् । मिटरब्याजीको शोषणको मारमा पनि जनता परेका छन् । विभिन्न ठाउँमा छुवाछुतको घटना सार्वजनिक भएका छन् । चेतना र जागरण जगाउन आवश्यक छ ।’ समाजमा रहेका विसंगतिको विरुद्धमा, सरकारी काममा हुने भ्रष्टाचारको विषयमा राजनीतिक दलले कार्यक्रम चलाउन आवश्यक रहेको उनले सुनाए । अहिलेको गठबन्धन ५ वर्षसम्म टिक्ने उनले दाबी गरे ।