सप्तरी । सप्तरीमा गैरनागरिकलाई नेपाली नागरिकता प्रदान गरेको कसुरमा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृतसहित २६ जनामाथि पक्राउ पुर्जी जारी भएको छ ।
सप्तरी जिल्ला अदालतबाट बुधबार जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत किशोर रामसहित २६ जनामाथि पक्राउ पुर्जी जारी भएको हो।
राजविराज नगरपालिका वडा नम्बर - ११ फर्सेठका सूर्यनारायण यादवले झुटो विवरण दिई नातामा नाति पर्ने सतिश यादवलाई छोरा बनाइ नेपाली नागरिकता बनाइ दिएको प्रकरणमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केले जानकारी दिए । उक्त प्रकरणमा यसअघि नै सूर्यनारायण र सतिश पक्राउ परी जनही एक-एक लाख रुपैयाँ धरौटी बुझाएर गत जेठ १ गते तारेखमा छुटेका हुन् ।
प्रशासकीय अधिकृत किशोर रामले भने बुधबार मात्रै सप्तरी कारागार प्रमुखबाट सरुवा भई सप्तरीको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।
अहिले सोही प्रकरणमा जिल्ला प्रशासन कार्यालयका अधिकृत रामसहित नासु सुशील कर्ण, खरिदारद्वय सुरज नेपाल र संजिवकुमार साह, प्रहरी सहायक निरीक्षक महेन्द्र चौधरी, प्रहरी सहायक हवलदारद्वय नारायणकुमार महतो र राम ईश्वर मण्डल, राजविराज नपा - ११ का वडा अध्यक्ष उदितनारायण यादव, वडा सचिव हरिनारायण यादवसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको अदालतले जनाएको छ ।
नागरिकता बनाउने पहिलो काम नागरिकताको सिफारिसदेखि सर्जमिन मुचुल्का तथा नागरिकता जारी गर्ने कार्यमा संलग्न भएका सबैलाई प्रतिवादी बनाइ जिल्ला सरकारी अधिवक्ताको कार्यालय सप्तरीले गत वैशाख ३१ गते सप्तरी जिल्ला अदालतमा आरोप पत्र दायर गरेको थियो ।
पक्राउ पुर्जी जारी भएका जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत किशोर रामले भने बुधबार मात्रै सप्तरी कारागार प्रमुखबाट सरुवा भई सप्तरीको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । अन्य सरकारी कर्मचारी तथा सुरक्षाकर्मी पनि अहिले सेवामै कार्यरत छन् ।