वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ मा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी र प्रभु अस्पतालको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
ग्रामिण भेगका महिलाहरुको स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श तथा औषधी वितरण गर्ने अभिप्रायका साथ शिविरको आयोजना गरिएको लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एसका नवनिर्वाचित गभर्नर लायन डि.एन. अग्रवालले जानकारी दिनुभएको छ ।
अग्रवालका अनुसार शिविरमा स्वास्थ्य परीक्षण गराएका ग्रामिण भेगका ५० जना गर्भवती महिलाहरुलाई पोषण सामग्रीसँगै आवश्यक औषधीसमेत उपलब्ध गराइएको थियो ।
शिविरमा बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ लायन डा. लक्ष्मी थापाले गर्भवती महिलाहरुको चेकजाँच गर्नुका साथै निःशुल्क रुपमा परामर्श पनि दिएकी थिइन् । गाउँका महिलाहरु शहरमा आउन समय नमिल्ने हुँदा क्लबले आयोजना गरेको शिविरबाट ग्रामिण भेगका महिलाहरु लाभान्वित भएको डा. थापाले बताइन् ।
साथै महिलाहरुले आफ्नो समस्यालाई पनि लुकाएर राख्ने र बताउन नसक्दा समस्या झनै बल्झिने हुँदा खुलेर समस्या बताउन पनि उनले बिरामीहरुलाई सचेत गराएकी छिन् ।
स्वास्थ्य शिविरका प्रमुख अतिथि बरिष्ठ उद्योगपति एवं समाजसेवी लायन बिरेन्द्र कुमार संघाईले शिविरमा सहभागी महिलाहरुलाई पोषण सामग्री उपलब्ध गराउन सहयोग गरेका थिए ।
लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सलमा खातुनको सभापतित्वमा सम्पन्न स्वास्थ्य शिविरमा लायन्स क्लब ईन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवाल, लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एसका नवनिर्वाचित गभर्नर लायन डि.एन. अग्रवाल, क्याबिनेट ट्रेजर लायन रामबिहारी पाण्डे, एरिया चिफ लायन उमेश शर्मा, वडाध्यक्ष किशोरी साह, स्थानीय नेता सुनिल साह, युवा अभियन्ता दिलीपराज कार्की लगायत स्थानिय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।