राजविराज — झुटा विवरण पेश गरी नेपाली नागरिकता दिएको आरोपमा आरोपित भइ फरार रहेको भन्दै पक्राउ पुर्जी जारी भएका प्रशासकीय अधिकृत किशोरकुमार राम शुक्रबार जिल्ला अदालत सप्तरीका हाजिर भएका छन् ।
२०७९ साल फागुन २१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सूर्यनारायण यादवको छोरा सतिश यादवको नेपाली नागरिकता जारी भएकोमा सतिश यादव सूर्यनारायणको छोरा नभएको भन्दै झुठा विवरण पेश गरी नागरिकता दिइएको भन्दै दर्ता भएको अभियोगपत्रमा प्रशासकीय अधिकृत राम समेत प्रतिवादी रहेका छन् ।
प्रशासकीय अधिकृत राम उक्त नागरिकता जारी हुँदा जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत थिए । उनले नै यो नागरिकता प्रमाणित गरेका थिए । मुद्दाको मिसिल अनुसार फरार रहेको भनिएका प्रशासकीय अधिकृत राममाथि गत बुधबार पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएकै दिन उनी सप्तरीको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका थिए । शुक्रबार जिल्ला अदालतमा हाजिर भएका प्रशासकीय अधिकृत रामको थुनछेकको बहस भइरहेको जिल्ला अदालतले जनाएको छ ।
यसअघि यस मुद्दामा प्रतिवादी बनाइएका राजविराज नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष उदितनारायण यादव एक लाख रुपैयाँ र स्थानीय बासिन्दा राधेश्याम यादव २५ हजार रुपैयाँ धरौटीमा बिहीबार तारेखमा रिहा भएका थिए भने नागरिकता लिएका सतिश र बुबा दाबी गरिएका सूर्यनारायण जनही एक–एक लाख धरौटीमा २०८० जेठ १ गते रिहा भएका थिए ।
जिल्ला प्रशासन कार्यालयको पत्रको जाहेरीले वादी नेपाल सरकार भइ सप्तरी जिल्ला अदालतमा २०८० वैशाख ३१ गते दर्ता भएको नागरिकता सम्बन्धी मुद्दाको अभियोग पत्रमा प्रतिवादी बनाइएकामध्ये २८ जना मध्ये २३ जना अझै फरार सूचीमै छन् ।
सो मुद्दामा फरार सूचीमा रहेको भन्दै पक्राउ पुर्जी जारी भएकाहरुमा जिल्ला प्रशासन कार्यालय सप्तरी, नायब सुब्बा सुशील कर्ण, खरिदारद्वय सञ्जिवकुमार साह र सुरज नेपाल छन् । यस्तै, सर्जमिन मुचुल्कामा बस्ने प्रहरी सहायक निरीक्षक महेन्द्र चौधरी, प्रहरी सहायक हबलदार नारायणकुमार महतो र रामईश्वर मण्डल छन् । सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्नेहरु समेत मुद्दामा प्रतिवादी रहेकाले उनीहरुमाथि पनि पक्राउ पुर्जी जारी भएको छ ।