वीरगन्जको मुख्य सडक (मेनराेड) विस्तारको मुद्दा अहिलेपनि सर्वोच्च अदालतमा विचाराधीन रहेको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।
मुद्दा अदालतमा विचाराधीन रहेकोले त्रिभूवन राजपथअन्तर्गत पर्ने वीरगन्जको भन्सार क्षेत्र र रजतजयन्ती चोकदेखि गण्डक चोकसम्मको सडक फराकिलो गर्ने विषय अहिले टुङ्गो नलागिसकेको सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख सीडीई राकेश कुमार यादवले बताए ।
‘हेटौंडा बजारको सडक विस्तार गर्ने विषयमा मात्रै अदालतबाट आदेश आएको छ । वीरगन्जको मुद्दा अहिलेपनि सर्वोच्च अदालतमा विचाराधीन छ । यस विषयमा अहिलेसम्म केहि टुङ्गो लागेको छैन,’ यादवले भने, ‘खै कुन पत्रकारले के लेखिदिएको छ । हिजोदेखि स्पष्टिकरण दिँदादिँदै म हैरान छु ।’
वीरगन्जबाट प्रकाशित केहि सञ्चार संस्थाले वीरगन्जको मुख्य सडक विस्तारको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको भन्दै बिहिबार समाचार लेखेपछि यस विषयमा अन्योल सृजना भएको थियो ।
सर्वोच्च अदालतमा वीरगन्जको सडक फराकिलो गर्ने विषयमा अन्तिम सुनुवाई जेठ ३१ गते रहेको यादवले बताए । ‘वीरगन्जको सडकका बारेमा अहिले केहिपनि भन्न सकिँदैन । जेठ ३१ गते सुनुवाई छ, जे फैसला आउँछ हामीपनि सोहीअनुसार काम गर्छौं,’ यादवले स्पष्ट पारे ।
यद्यपि बागमती प्रदेशको राजधानी हेटौंडा बजारको सडक भने २५ गज बिस्तार गर्न अदालतले अनुमति दिएको यादवले जानकारी दिए । उनले हेटाैडाकाे सडकको मध्य बिन्दूबाट दुवै तर्फ २५/२५ गज सडक बिस्तार गर्न सर्वोच्चले फैसला सुनाएको बताए । ‘हेटौंडाको रातोमाटेदेखि राप्ति रोडसम्म लगभग ६ किलोमिटर २५/२५ गज सडक फराकिलो गर्ने हामीले तयारी गरेका छौँ,’ उनले भने, ‘वीरगन्जकाे बारेमा भने अदालतबाट फैसला आएपछि त्यहाँको सडकपनि फराकिलो गर्छौं ।’