वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा सिलाईकटाई तथा ब्युटिसियन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
ठोरी गाउँपालिकाको सहयोगमा कम्युनिटी डेभलपमेन्ट र नेशनल इम्प्लोयमेन्ट डेभलपमेन्ट सेन्टर प्रा.ली वीरगञ्जको आयोजनामा ३ सय ९० घण्टे तालिम बुधवार एक समारोहका बीच सम्पन्न भएको हो ।
ठोरी गाउँपालिका वडा नम्बर १, २, ३ र ४ का महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने अभिप्रायका साथ तालिमको आयोजना गरिएको गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीले बताइन् ।
गाउँपालिकाले महिलाको क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गरीरहेको बताउँदै उनले आगामी दिनमा पनि यस्तै सीपमुलक तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।
सिटिईभिटीको मापदण्डबमोजिम सञ्चालित सिलाईकटाई र ब्युटिसियन तालिममा चारवटै वडाका ४०/४० जना महिलाको सहभागिा रहेको कम्युनिटी डेभलपमेन्टका प्रबन्ध निर्देेशक प्रभात मिश्राले जानकारी दिए ।
मिश्राकाअनुसार बुधवार तालिम प्राप्त गरेको प्रमाण पत्र पनि सहभागीहरुलाई प्रदान गरिएको छ । केही समयभित्रै सिटिईभिटीको एनएसटिभीअन्र्तगत सीप परीक्षण गरेर सीप परीक्षण प्रमाण पत्र वितरण गरिने पनि मिश्राले बताए ।
सहभागी महिलाहरुलाई सिलाईकटाई मेशिनसँगै ब्युटिसियन तालिममा सहभागीहरुलाई ब्युटिसियन सम्बन्धी आवश्यक सामग्री पनि उपलब्ध गराइएको नेशनल इम्प्लोयमेन्ट डेभलपमेन्ट सेन्टर प्रा.ली वीरगञ्जकी प्रबन्ध निर्देशक सुर्भी शुक्लाले बताइन् ।
तालिमको समापन समारोहमा ठोरी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष धनमान थापा मगर, २ का वडाअध्यक्ष अमृत कृष्ण सापकोटा, ३ का वडाअध्यक्ष शम्भु खड्का, कार्यपालिका सदस्यद्वय फुलमाया दर्जी, धनमाया घलान लगायतको उपस्थिती रहेको थियो ।