जिल्ला प्रशासन कार्यालय, सर्लाहीले हुलाकी सडक निर्माणमा चासो देखाएको छ । जिल्ला प्रशासन कार्यालय, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बिहीवार बसेको सरोकारवालाहरूको बैठकले हुलाकी सडक निर्माणमा तीव्रता देखाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
बैठकले मलङ्गवा नगरपालिकास्थित राजश्री हलदेखि कृष्णचोकसम्म नगरप्रमुख नागेन्द्रप्रसाद यादवको उपस्थितिमा हुलाकी सडक आयोजना प्रमुखसहितको टोली खटेर साइट क्लियर गर्ने, जेठ १४ गते पर्सा र ब्रह्माकुमारी गापाको भेलाहीमा हुलाकी राजमार्ग निर्माणमा देखिएका विवादित स्थानको समाधान गर्न राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय प्रहरी प्रशासन, नागरिक समाजसहितको टोलीले स्थलगत भ्रमण गरी समस्या समाधान गर्ने र हुलाकी राजमार्ग निर्माण कार्य असार १५ गतेसम्म कालोपत्रसहित सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकमा जिल्ला समन्वय समिति, सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, मलङ्गवाका नगरप्रमुख नागेन्द्रप्रसाद यादव, गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादव, ब्रह्माकुमारी र रामनगरीका अध्यक्ष रामपदारथसाह तेली र राजाबाबू यादव, हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका कृष्णकुमार महतो, इन्जिनीयर रञ्जीतकुमार रायलगायत सशस्त्र, जनपदका प्रहरी प्रमुखहरूको सहभागिता थियो ।